२०८३ कार्तिक ७ गते, शुक्रबार १०:१३

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, सयौँ घर ध्वस्त

काठमाडौं –

चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण सयौँ घर भत्किएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको नाग्कु क्षेत्रमा भूकम्पको ठूलो प्रभाव परेको छ। नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। अन्य २१ जनालाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन्। मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने आशंकाबीच प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ।

भूकम्पबाट घरबारविहीन भएका नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोली परिचालन गरिएको छ। विस्थापित नागरिकका लागि अस्थायी पाल निर्माण गरी तत्काल राहत तथा आश्रयको व्यवस्था मिलाउने प्रयास भइरहेको छ।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार यो भूकम्प पछिल्लो पाँच वर्षयताकै यस क्षेत्रको सबैभन्दा शक्तिशाली भूकम्प हो। शक्तिशाली धक्कापछि प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।

भूकम्पबाट प्रभावित बस्तीमा थप क्षतिको अवस्था आकलन भइरहेको छ। उद्धार कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस