२०८३ भाद्र १९ गते, शुक्रबार ०९:१६

भोटेकोशी बाढीको धक्का: जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री बालेन शाह न्युयोर्क जाने

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा भदौ २३ गतेदेखि सुरू हुने महासभाअन्तर्गत असोज ६ गतेदेखि आयोजना हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्क जान लागेका हुन्।

यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो। तर, गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री शाहले आफैँ महासभामा सहभागी भएर अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा उठाउने निर्णय लिएका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको प्राकृतिक विपद्, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति र साना तथा जोखिमयुक्त देशहरूका लागि जलवायु न्यायको अपरिहार्यताबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।

प्रधानमन्त्री शाहको भ्रमणलाई आधिकारिकता दिन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। सरकारले प्रधानमन्त्री नेतृत्वको टोलीलाई चुस्त र सानो आकारको बनाउने तयारी गरेको छ।

गत चैतमा प्रधानमन्त्री नियुक्त भएयता शाहको यो पहिलो विदेश यात्रा हुनेछ। छिमेकी मित्रराष्ट्र भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा आइसकेको भए पनि प्रधानमन्त्री शाह दुवै छिमेकी देशको भ्रमणअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका हुन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस