वीरगन्ज–
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति झन्-झन् भयावह बन्दै गएको छ। बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या हालसम्म १ हजार २८२ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (DIG) अबिनारायण काफ्लेका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिमका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतका भूभागमा समेत गरी हालसम्म १ हजार २८२ जनाको शव फेला परेको हो।
५ हजारभन्दा बढी नागरिक अझै बेपत्ता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ५ हजार ८३ जना नागरिक अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्। बेपत्ताहरूको खोजीका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ।
१२ हजारको उद्धार, ३ हजार होल्डिङ सेन्टरमा
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी विस्थापितहरूलाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूलाई खानेकुरा, स्वास्थ्य उपचार तथा आधारभूत राहत सामग्री उपलब्ध गराउने काम भइरहेको छ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, घाइतेको उपचार जारी
खोज, उद्धार र राहत कार्यका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी निरन्तर मैदानमा खटिएका छन्। बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रभावितहरूलाई नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्य टोलीले समेत प्रत्यक्ष उपचार सेवा दिइरहेका छन्। जसअन्तर्गत हालसम्म नेपाली सेनाले ३ हजार २०६ जना र सशस्त्र प्रहरी बलले १ हजार ८७४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिसकेका छन्।
प्राधिकरण र सुरक्षा निकायहरूले हाल बेपत्ताको तीव्र खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापित परिवारको तत्काल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन्।












