२०८३ भाद्र १९ गते, शुक्रबार ०९:११

त्रिशूली–३ ‘ए’ को सुरुङमा ९ दिनपछि सुनियो मानिसको आवाज: नेपाली सेना र सशस्त्रको टोली सुरुङभित्र प्रवेश

वीरगन्ज

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गेग्रान र माटोले थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनपछि मानिसको आवाज सुनिएको छ। लगातार जारी खोज तथा उद्धारका क्रममा शुक्रबार सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि फसेकाहरू जीवितै उद्धार हुने आशा जागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएका नेपाली सेनाका जवानहरूले सुरुङभित्रबाट मानिसको आवाज सुनेको जानकारी गराएका हुन्। आवाज सुनिएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली थप तीव्रताका साथ सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटेको छ।

बिहीबार साँझसम्म आफैँ इन्जिनियरको भूमिकामा आयोजनास्थलमै खटिएका सांसद न्यौपानेले सुरुङभित्र कति जना व्यक्ति जीवित अवस्थामा छन् भन्ने यकिन भैनसके पनि यो घटना उद्धारका लागि निकै आशाजनक रहेको बताएका छन्। प्राविधिक तथा सुरक्षा टोलीले भित्र फसेकाहरूको अवस्था पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका छन्।

बाढीले सुरुङको मुखमा ठूलो मात्रामा माटो, ढुङ्गा र गेग्रान थुपारेका कारण खोजी तथा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको थियो। तर अहिले आधुनिक प्रविधि र उपकरणको प्रयोग गर्दै उद्धार टोली अघि बढिरहेको छ।

स्थलगत खटिएपछि अब पैदलै विदुर पुगेर काठमाडौँ फर्किने तयारीमा रहेका न्यौपानेले उद्धारमा निरन्तर खटिएका सुरक्षाकर्मी र प्राविधिकहरूप्रति आभार व्यक्त गर्दै छिट्टै सबैको सकुशल उद्धारको सुखद खबर पाइने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस