मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्यो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्यो ।

जापानले प्रस्तुत गरेको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । नेपालको सहज जितमा शिवान्स बजगाईंले नटआउट ३८ रन र प्रसिद्ध जैशीले ३३ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन जोडे भने गबी हाराहिन्जले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि शुभम खनालले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । अभय यादवले दुई विकेट हात पारे भने सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक कार्यतालिका अनुसार आयोजित यो प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।