२०८३ बैशाख ६ गते, आईतवार १६:२५

जनकपुरमा पत्रकारमाथि कानून व्यवसायीको आक्रमण, मानव अधिकार आयोगद्वारा छानबिन सुरु

जनकपुरधाम —

जनकपुरधाममा पत्रकारमाथि वकिलहरूको समूहले गरेको आक्रमणप्रति राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरु गरेको छ।

आयोगको मधेश प्रदेश कार्यालयको टोलीले सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयमा पुगेर पीडित पत्रकार र सरोकारवालासँग विस्तृत जानकारी लिएको हो।

गत साउन २७ गते जनकपुरधाम–४ स्वर्गद्वारी नजिकको गुठी जग्गासम्बन्धी पत्रकार सम्मेलनपछि केही अधिवक्ताहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। यस क्रममा महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा, र दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको महासंघले जनाएको छ।

महिला पत्रकार ज्योति झा र विनीता यादवमाथि आपत्तिजनक व्यवहार र हातपात भएको, लैङ्गिक संवेदनशीलता बेवास्ता गरिएको आरोपसमेत लगाइएको छ।

आयोगको टोलीमा मानव अधिकार अधिकृत किरण घिमिरे, राहुल कुमार ठाकुर र कर्मचारी ऋषिकुमार झा सहभागी थिए। टोलीले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र कानुनी राज्यको मर्यादा कायम गर्न महासंघको माग सुनेको छ। आयोगले छानबिनपछि तत्काल प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

घटनाबारे जानकारी लिन मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र इन्सेक मधेश प्रदेशका प्रतिनिधिहरूले पनि पीडित पत्रकार र अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट गरेका छन्।

पोडकास्ट सुन्नुहोस