काठमान्डौं-
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गर्नुभएको छ ।
नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उहाँको भनाइ छ । दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उहाँको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उहाँले बताउनु भयो । नेपालमा मुलुकमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताउनु भयो । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उहाँको भनाई छ । उहाँले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गर्नुभयो । एउटा होईन, चार÷चार वटा संस्थाले अनुसन्धान गरेको उहाँले बताउनु भयो । राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उहाँले जानकारी दिनुभयो ।
गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरु त्यहाँ नरहेको उहाँको दाबी छ । त्यहाँ बिसौँ हजार गाँउका जनता मात्रै भएको उहाँले बताउनुभयो । त्यसबेला माओवादीहरुप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाई छ । माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरु गर्ने गरेका कारण त्यसको रियाक्सनको रुपमा उक्त घटना भएको हुनसक्ने उहाँले बताउनु भयो । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताउनु भयो । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायधीशको संयोजकत्वमा बनेको न्यायिक छानविन आयोगले पनि छानविन गरेर त्यो कुराको पुष्टी गरेको उहाँको दाबी छ । राजनितिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उहाँले बताउनु भयो ।
गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए ।