जनकपुर-
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि रकम असुली लगायत गम्भीर आरोपमा छानबिन समिति गठन गरेको छ ।
सिलवाल हाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख रहेका छन् । उनीमाथि चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, चालकहरूसँग अभद्र व्यवहार गर्ने तथा अवैध रूपमा रकम असुली गर्ने जस्ता गम्भीर उजुरी परेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका डीआईजी उमाप्रसाद चर्तुवेदीका अनुसार सिलवालविरुद्ध मौखिक तथा लिखित गरी ३५ वटा उजुरी दर्ता भएपछि पाँचवटा छुट्टाछुट्टै समिति बनाएर छानबिन अघि बढाइएको हो ।
सिलवालमाथि मादक पदार्थ सेवन (मापसे) गरेका चालकलाई कानुनविपरीत थुनामा राख्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने, ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर रकम असुली गर्ने लगायतका आरोपसमेत रहेका छन् । साथै, भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा कडाइ गर्ने नाममा रकम असुली गरेको उजुरी पनि आएको छ ।
सिलवाल यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका छन् । उनीमाथि यसअघि मिटरब्याजमा रकम लगाएको आरोपसमेत लागेको थियो । तर यसपटकको आरोपबारे भने सिलवालले आफूलाई समिति गठन भएको जानकारी नभएको बताएका छन् ।