२०८२ पुष १ गते, मंगलवार १५:०५

प्रविधिमैत्री हुन सबैलाई पूर्व मुख्यमन्त्री गद्दीको आग्रह

वीरगन्ज-

मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले बदलिँदो परिवेशमा सञ्चारकर्मीहरूले आफूलाई समयअनुकूल अपडेट गर्न आवश्यक रहेको बताउनुभएको छ । विज्ञान र प्रविधिले हासिल गरेको प्रगतिलाई समयमै आत्मसात् नगरे पछि पर्ने जोखिम रहेको उहाँको भनाइ छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा पर्साका सञ्चारकर्मीहरूका लागि आज वीरगन्जमा आयोजित कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी एकदिने तालिमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री गद्दीले समाजलाई सचेत र जागरुक बनाउने दायित्व वहन गर्ने सञ्चारकर्मीहरूका लागि प्रविधिमैत्री हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

आफू मधेस प्रदेशको मुख्यमन्त्री हुँदा सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित आमसञ्चार प्राधिकरण गठन गरिएको स्मरण गर्दै उहाँले आज वीरगन्जमा प्राधिकरणले एआईसम्बन्धी तालिम सञ्चालन गरेको देख्दा खुसी लागेको बताउनुभयो ।

सञ्चारकर्मीहरूको हितका लागि गठन गरिएको आमसञ्चार प्राधिकरणको संरचनामा हालसम्म कुनै विस्तार हुन नसक्नु दुःखद् भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासले समाजमा सुशासन प्रवर्द्धन, विभेद अन्त्य तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्रशान्त क्षेत्रका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम तथा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले आ–आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले सञ्चार क्षेत्रमा एआईको प्रयोगले चुनौतीसँगै अवसरका नयाँ ढोका खोलेको बताउनुभयो । प्रविधिमा भएको प्रगतिलाई सञ्चार क्षेत्रले आत्मसात् गरे सुशासन प्रवर्द्धनका साथै गुणस्तरीय पत्रकारिताको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी ६० जनाभन्दा बढी सञ्चारकर्मीहरूलाई एआई प्रयोगका विषयमा सुरेश विडारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएको थियो ।

कृत्रिम बौद्धिकताको प्रयोगले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै समयसापेक्ष र गुणस्तरीय सामग्री उत्पादनमा सहयोग पुग्ने विषयमा प्रशिक्षकहरूले सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

पोडकास्ट सुन्नुहोस