काठमाडौँ –
नेपाल सरकारले लामो समयदेखि प्रतिबन्धित १०० रुपैयाँभन्दा बढी दरका भारतीय नोटहरू अब नेपालमा चलनचल्तीमा ल्याउन अनुमति दिएको छ।
सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँभन्दा माथिका दरका भारतीय नोटहरू नेपालमा प्रयोग गर्न सकिने औपचारिक निर्णय गरेको हो। यो निर्णयसँगै नेपाल भ्रमणमा आउने भारतीय पर्यटक तथा व्यवसायीहरूलाई ठूलो राहत मिल्ने भएको छ।
निर्णयको पृष्ठभूमि सरकारको यो निर्णय भारत सरकारको हालैको कदमलाई आधार मानेर गरिएको हो। करिब दुई साताअघि भारत सरकार (रिजर्व बैंक अफ इन्डिया) ले नेपाल र भुटान भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म साथमा राख्न र लैजान पाउने गरी उच्च मूल्यका नोटमाथिको प्रतिबन्ध हटाएको थियो।
भारतीय पक्षको सोही स्वीकृतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि ती उच्च दरका नोटहरूलाई नेपाल भित्र्याउन र यहाँको बजारमा चलनचल्तीमा ल्याउन कानुनी बाटो खुला गरिदिएको हो।
यसको प्रभाव यसअघि १०० रुपैयाँभन्दा ठूला दरका नोटमा प्रतिबन्ध हुँदा नेपाल आउने भारतीय पर्यटकहरूले नगद बोक्न सास्ती खेप्नुपरेको थियो भने सीमा क्षेत्रका बजारहरूमा पनि भुक्तानीमा समस्या देखिँदै आएको थियो।
मन्त्रिपरिषद्को यो निर्णयले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहजता आउने अपेक्षा गरिएको छ। अब नेपाल आउने भारतीय नागरिक वा भारतबाट फर्कने नेपालीले तोकिएको सीमासम्मका उच्च दरका भारतीय नोट निर्धक्क प्रयोग गर्न पाउनेछन्।















