काठमाडौं, ३ पुस — हाम्रो सौर्यमण्डल बाहिरबाट आएको एक दुर्लभ अन्तरतारकीय धूमकेतु आज पृथ्वी नजिक हुँदैछ। 3I/ATLAS नाम दिइएको यो धूमकेतु आज डिसेम्बर १९ को प्रारम्भिक घण्टामा पृथ्वीबाट सबैभन्दा नजिक पुग्ने वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूका अनुसार धूमकेतु 3I/ATLAS पृथ्वीबाट करिब २७ करोड किलोमिटर दूरी बाट पार हुँदैछ, जुन पृथ्वी–सूर्यबीचको औसत दूरीको झण्डै दुई गुणा हो। यसबाट पृथ्वीलाई कुनै पनि खतरा नरहेको नासा तथा अन्तर्राष्ट्रिय खगोल संस्थाहरूले स्पष्ट पारेका छन्।
बरफ, धुलो र जमेको ग्यासबाट बनेको यो धूमकेतु करिब २ लाख ९ हजार किलोमिटर प्रतिघण्टा को तीव्र गतिमा यात्रा गरिरहेको छ। यसको व्यास करिब ३२० मिटरदेखि ५.६ किलोमिटर बीच हुन सक्ने अनुमान गरिएको छ।
धूमकेतु 3I/ATLAS सन् २०१७ मा पत्ता लागेको ‘ओउमुआमुआ’ र सन् २०१९ को 2I/बोरिसोभपछि अहिलेसम्म पहिचान भएको तेस्रो अन्तरतारकीय वस्तु हो। वैज्ञानिकहरूका अनुसार यसको अध्ययनले हाम्रो सौर्यमण्डल बाहिर रहेका ग्रह प्रणालीहरू कसरी बने भन्ने विषयमा महत्वपूर्ण जानकारी दिनेछ।
हाल यो धूमकेतु सिंह (Leo) नक्षत्र नजिक देखिने अनुमान गरिएको छ। यद्यपि यो नाङ्गो आँखाले देख्न सम्भव नभएकाले टेलिस्कोपको सहायताले मात्र अवलोकन गर्न सकिने बताइएको छ। स्थान र मौसमअनुसार अवलोकनको समय फरक पर्न सक्ने खगोलविद्हरूको भनाइ छ।
यदि प्रत्यक्ष रूपमा हेर्न नसक्नेहरूका लागि इटालीको मन्सियानोस्थित टेलिस्कोपबाट The Virtual Telescope Project ले प्रत्यक्ष प्रसारणसमेत गर्ने जनाएको छ।
वैज्ञानिकहरूले यो घटनालाई अन्तरिक्ष अध्ययनका लागि दुर्लभ र ऐतिहासिक अवसर का रूपमा व्याख्या गरेका छन्। धूमकेतु 3I/ATLAS केही समय सौर्यमण्डल हुँदै पार गरेपछि पुनः अन्तरतारकीय अन्तरिक्षतर्फ फर्किनेछ र फेरि कहिल्यै नदेखिनेछ।














