काठमाडौं-
जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
शुक्रवार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गर्नुभएको हो ।
जेन–जी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार पत्रकार घाइते भएका थिए ।
आन्दोलनको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई शुक्रवार मन्त्रालयमा एक आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो ।
मन्त्री खरेलले घाइते पत्रकारहरुले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।














