२०८२ पुष ९ गते, बुधबार १९:१४

निर्वाचन नभए मुलुक द्वन्द्वमा फस्ने निवर्तमान मुख्यमन्त्री सोनलको चेतावनी

बारा-
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले तोकिएको समयमा निर्वाचन हुन नसके मुलुक पुनः द्वन्द्वको भुमरीमा फस्ने निश्चित रहेको बताउनुभएको छ ।

मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बुधबार बारामा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेता सोनलले देशमा हालै भएको ‘जेन्जी’ आन्दोलन पश्चात् जनताले एक नयाँ र गतिशील नेतृत्व खोजिरहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अनिवार्य रहेकोमा जोड दिनुभयो ।

निर्वाचनमार्फत आउने नयाँ जनादेशले संसद्को गरिमा बढाउने र आन्दोलनको भावना अनुसार संविधान संशोधन गरी लोकतन्त्रलाई थप बलियो बनाउने उहाँको तर्क थियो ।

वर्तमान राजनीतिक समीकरणप्रति कटाक्ष गर्दै सोनलले सत्तापक्ष र प्रतिपक्ष मिलेर सरकार बनाउँदा मुलुकमा विद्रोहको स्थिति सिर्जना भएको दाबी गर्नुभयो ।

आन्दोलन पश्चात् बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनको मितिमा समेत विभेद गरेको उहाँले आरोप लगाउनुभयो ।

तराई–मधेसको मुख्य चाड होलीको आसपास वा भोलिपल्ट निर्वाचन गर्दा त्यसले जनसहभागिता र मतदानमा गम्भीर असर पर्ने भन्दै उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनुभयो ।

मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने र मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतको विशेष उपस्थिति रहेको थियो ।

वक्ताहरूले सञ्चार क्षेत्रले भोग्नुपरेका समसामयिक समस्या र चुनौतिबारे धारणा राख्नुभएको थियो ।

पोडकास्ट सुन्नुहोस