वीरगन्ज-
तराई क्षेत्रमा बढ्दो शीतलहर र अत्यधिक चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा जोखिम बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालय बिदा पुनः थप गरेको छ। महानगरपालिकाले यसअघि दिएको बिदालाई निरन्तरता दिँदै थप तीन दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले भोलि पुस १६ गते बुधबारदेखि पुस १८ गते शुक्रबारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाएको छ। पुस १९ गते शनिबार परेकाले अब महानगरभित्रका विद्यालयहरू पुस २० गते आइतबारदेखि मात्र नियमित सञ्चालन हुने शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो।
यसअघि महानगरले पुस ७ गतेदेखि १४ गतेसम्म बिदा दिएको थियो भने पुस १५ गते ‘तमु ल्होसार’ को सार्वजनिक बिदा परेको थियो। मौसममा सुधार हुने अपेक्षा गरिए पनि घना कुहिरो र चिसो हावा चल्ने क्रम नरोकिएपछि विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी दोस्रो पटक बिदा थपिएको हो।
पछिल्लो केही दिनदेखि तराईमा बढेको प्रतिकूल मौसमका कारण बालबालिकाहरूलाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको छ। चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, रुघाखोकी र अन्य स्वास्थ्य समस्या देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय लिइएको महाशाखाले जनाएको छ। अहिले थपिएको यो बिदा विद्यालयहरूको वार्षिक ‘वर्षे बिदा’ बाट कट्टा हुने गरी व्यवस्था मिलाइएको छ।
महानगरपालिकाले चिसोबाट बच्न र बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिन अभिभावकहरूलाई समेत आग्रह गरेको छ।














