२०८२ पुष २९ गते, मंगलवार १६:१७

वीरगन्जमा थारु नयाँ वर्ष र माघे खिचडीको भव्य तयारी; माघ १ गते विशेष सांस्कृतिक महोत्सव हुने

वीरगन्ज-

माघे खिचडी मूल समारोह समिति पर्साले आगामी माघ १ गते माघे पर्व तथा आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० लाई भव्य रूपमा मनाउने सम्पूर्ण तयारी पूरा गरेको छ। सोमबार नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै समितिले कार्यक्रमको विस्तृत तालिका सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले थारु समुदायको कला, संस्कृति र पहिचानलाई उजागर गर्न यस वर्ष विशेष सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा थारु समुदायका चर्चित नृत्यहरू– झम्टा, सामा–चकेवा, थारु पूर्वी नाच र विभिन्न बाल कला प्रदर्शनी प्रस्तुत गरिनेछ। यस वर्षको महोत्सवमा थारु परम्परागत खानाका परिकारहरू प्रमुख आकर्षण रहनेछन्। जसमा घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुराको मासु र चिचर लगायतका परिकारहरूको प्रदर्शनी तथा स्वाद लिन पाइने समितिले जनाएको छ।

आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ १ गतेको मुख्य कार्यक्रमअघि माघ ३० गते विशेष तयारी गरिएको छ। सो दिन दिउँसो पावरहाउस चोकदेखि मकालु होटल हुँदै घण्टाघरसम्म भव्य मोटरसाइकल र्‍याली निकालिनेछ भने साँझ ६ बजे दीप प्रज्वलन गरिनेछ। त्यसैगरी, माघ १ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरिने र दिउँसो सांस्कृतिक महोत्सव गरी पर्वलाई उत्साहपूर्वक मनाइने पञ्जियारले बताउनुभयो।

उपस्थिति र अपिल समितिले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति तथा अन्य आम नागरिकहरूलाई आफ्नो कला र संस्कृतिको उत्सवमा सहभागी हुन हार्दिक अपिल गरेको छ। पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, र सुरक्षा संयोजक विकास चौधरी लगायतको उपस्थिति रहेको थियो।

सहभागी वक्ताहरूले थारु समुदायको नयाँ वर्षलाई स्वागत गर्न र समाजमा आपसी सद्भाव कायम राख्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

पोडकास्ट सुन्नुहोस