वीरगन्ज-
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको नेतृत्व र एलाइड यूथ सोसाइटीको आयोजनामा वीरगन्जस्थित श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सचेतना कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक प्रणालीको महत्त्व, नियमहरूको पालना, सुरक्षित यातायात व्यवहार तथा पैदल यात्री र सवारी चालकले अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक प्रहरी निरीक्षक कटवालले ट्राफिक नियमको पालनाले मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना केवल कानुनी बाध्यता मात्र नभई यो एक गम्भीर सामाजिक जिम्मेवारी पनि हो। विद्यार्थीहरू सानै उमेरदेखि नै सडक सुरक्षाप्रति सचेत र जिम्मेवार नागरिक बन्नु आवश्यक छ।”
एलाइड यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवाहरूलाई ट्राफिक सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइयो। अध्यक्ष गुप्ताले आगामी दिनमा पनि समुदायका लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एलाइड यूथ सोसाइटीका संस्थापक अध्यक्ष ओम झाको विशेष उपस्थिति रहेको थियो। उहाँले सुरक्षित समाज निर्माणका लागि समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। संस्थाका सदस्यहरूको सक्रिय सहयोगमा सम्पन्न उक्त कार्यक्रम अनुशासित र प्रभावकारी रूपमा टुङ्गिएको आयोजकले जनाएको छ।














