काठमाडौँ-
नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ मोड आएको छ। संस्थापन पक्षको चर्को असन्तुष्टि र विमतिका बीच काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनमा सहमतिका सबै ढोका बन्द भएपछि गएराति निर्वाचन समितिले परिणाम सार्वजनिक गरेको हो।
वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। यो परिणामसँगै कांग्रेसमा ‘पुस्तान्तरण’ को बहसले ठोस रूप लिएको छ।
आठ सहमहामन्त्रीमा को-को?
विभिन्न क्लस्टरबाट चुनिएका सहमहामन्त्रीहरूमा डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिंह लामा (जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) रहेका छन्।
केन्द्रीय सदस्यमा पुराना र नयाँको सम्मिश्रण
खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, चिनकाजी श्रेष्ठ र विनोद चौधरी जस्ता स्थापित अनुहारदेखि युवा नेताहरू देवराज चालिसे र उज्ज्वल बरालसम्म निर्वाचित भएका छन्। महिला खुल्लातर्फ प्रतिमा गौतम र धना खतिवडासहित ९ जना निर्वाचित भएका छन्।
प्रादेशिक संरचनामा समेत नयाँ नेतृत्व आएको छ। कोशीबाट शारदादेवी कोइराला, बागमतीबाट रमेश धमला र मधेशबाट बज्रङ्ग नेपालीसहितका नेताहरूले केन्द्रीय समितिमा स्थान बनाएका छन्। यस्तै, दलित, मधेशी र थारू क्लस्टरका अधिकांश सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
“यो महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा र विचार दिएको छ। हामी पार्टीलाई विधानसम्मत र गतिशील बनाउनेछौँ।” –गगन थापा, नवनिर्वाचित सभापति
संस्थापन पक्षको विमति
यो महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले भने वैधानिकता दिन अस्वीकार गरेको छ। पार्टीभित्रको यो शक्ति सङ्घर्षले आगामी दिनमा नेपाली कांग्रेसलाई विभाजन वा पुनर्गठन कुन दिशामा लैजान्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।














