वीरगन्ज –
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा बिहीबार माघे संक्रान्तिको अवसर पारेर पर्साको ऐतिहासिक गहवामाई मन्दिर प्राङ्गणमा भव्य ‘समरसता उत्सव’ सम्पन्न भएको छ। समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाप्रसाद (खिचडी) वितरण समेत गरिएको थियो।
हिन्दू स्वयंसेवक संघ नेपालका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। ‘संगठित हिन्दू र समर्थ नेपाल’ को मूल नारालाई आत्मसात गर्दै आयोजित उत्सवमा वीरगन्जका विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
धार्मिक र सांस्कृतिक एकता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको यस कार्यक्रममा सहभागीहरूले एउटै स्थानमा बसेर सामूहिक रूपमा खिचडी ग्रहण गरेका थिए। विश्व हिन्दू परिषद पर्साका सचिव दिपेन्द्र सरार्फका अनुसार, यसरी सामूहिक रूपमा महाप्रसाद ग्रहण गर्नाले समाजमा विद्यमान विभेद र दूरी कम भई आपसी भाइचारा र सद्भाव मजबुत हुने विश्वास लिइएको छ।
उत्सवका क्रममा परेड, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममार्फत हिन्दू स्वयंसेवक संघले समरस र संगठित समाज निर्माणका लागि सबै धर्मावलम्बी र सामाजिक अभियन्ताहरूलाई एकजुट हुन आह्वान गरेको छ।
कार्यक्रममाहिन्दू स्वयंसेवक संघ नेपालका सदस्यहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।














