काठमाडौं –
नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचनका लागि दुई चरणमा टिकट वितरण गर्ने भएको छ । पार्टीले आइतबार पहिलो र सोमबार दोस्रो चरणको टिकट वितरण गर्ने गरी तयारी गरिरहेको हो ।टिकट वितरणका लागि कांग्रेसले शनिबार संसदीय बोर्ड गठन गरेको थियो । पार्टी पदाधिकारीहरूलाई राखेर बोर्ड गठन गरिएको हो ।
सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले पार्टी पदाधिकारीहरू रहने गरी बोर्ड गठन गरेको हो । उक्त बोर्डले शनिबारबाटै काम गरिरहेको छ । सहमहामन्त्री डिला संग्रौलाका अनुसार अहिले पनि टिकटको छलफल जारी छ । हामी निरन्तर छलफलमा बसेर टिकट वितरणलाई न्यायोचित बनाउने प्रयास गरिरहेका छौं,’ उनले लोकान्तरसँग भनिन् ।
अघिल्ला निर्वाचनहरूमा गठबन्धन गरेर गएको कांग्रेसले यसपटक भने कुनै दलसँग पनि चुनावी गठबन्धन नगर्ने निर्णय पनि गरेको छ । पार्टीको हिजै बसेको केन्द्रीय समिति बैठकले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्नुपर्ने दायित्व पार्टीमा आइपरेको छ । पार्टी महामन्त्री गुरुराज घिमिरेले न्यायोचित रूपमा सबैलाई टिकट वितरण गरिने बताए । उनले आज साँझसम्म पहिलो चरणको टिकट पाउने उम्मेदवारको नाम सार्वजनिक गरिने बताए ।
साथै, भोलि दोस्रो चरणमा उम्मेदवारको नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।‘हिमाली र पहाडी भू-भागका उम्मेदवारको नाम आज सार्वजनिक हुन्छ,’ उनले भने, ‘समथल भूभाग अर्थात् तराईको क्षेत्रका उम्मेदवारको नाम भोलि सार्वजनिक गर्छौं ।’
के गर्ला असन्तुष्ट पक्ष?
यता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने अझै असन्तुष्ट नै रहेको छ । अदालत पुगेर आधिकारिकता दाबी गरिरहेको समूहले चुनावको विषयमा कुनै पनि निर्णय पार्टी नेतृत्वलाई दिएको छैन । पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले यो बीचमा असन्तुष्ट नेताहरूलाई सम्पर्क गरेर चुनाव लड्न भनिरहेका छन् ।
यो बीचमा शर्माले असन्तुष्ट नेताहरू बालकृष्ण खाँण लगायतलाई सम्पर्क गरेका छन् । पार्टी एकताबद्ध भएर अघि बढ्न तथा चुनाव मिलेर जान भन्दै शर्माले नेताहरूलाई बुझाउन खोजिरहेका छन् । संस्थापन समूहलाई असन्तुष्ट नेताहरू सहमतिमा आउँछन् भन्ने आश छ । पार्टी पूर्व सहमहामन्त्री तथा संस्थापन समूहका नेता महेन्द्र यादव पनि चुनाव लड्नुपर्ने बताउँछन् ।
अदालतमा केन्द्रीय समितिको आधिकारिताको विषय लिएर गए पनि रूख चिह्न र चार तारे झन्डामा नै रहनुपर्ने धारणा उनको छ । ‘अदालतले निर्णय दिन्छ नै । तर, रूख चिह्नमै चुनाव लड्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छन् ।असन्तुष्ट समूहलाई मनाउने जिम्मा सभापति थापा र उपसभापति शर्मालाई दिइएको महामन्त्री गुरुराज घिमिरे बताउँछन् ।‘सभापति र उपसभापतिज्यू सबैलाई समेट्न लाग्नुभएको छ,’ उनी भन्छन्, ‘सबैका लागि कांग्रेसमा ढोका खुल्ला छ ।’
२१ फागुनमा हुने निर्वाचनका लागि ६ माघमा प्रत्यक्षतर्फ हुने निर्वाचनका लागि मनोनयन दर्ता हुँदै छ । यसअघि नै समानुपातिकतर्फको बन्द सूची बुझाउने कार्य सम्पन्न भइसकेको छ ।














