२०८२ माघ ४ गते, आईतवार १५:४७

वीरगन्ज महानगरपालिकामा बढ्दै महिला हिंसाका घटना

वीरगन्ज-

देशको आर्थिक राजधानी र मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सबैभन्दा बढी महिला हिंसाका घटना हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार जिल्लाका अन्य स्थानीय तहको तुलनामा वीरगन्ज महानगरपालिकामा महिला हिंसाका उजुरीहरूको संख्या उच्च देखिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पुस महिनामा मात्रै जिल्लाभरिबाट घरेलु हिंसाका ५७ वटा र सामाजिक हिंसाका ८१ वटा उजुरी दर्ता भएका छन्। जसमध्ये घरेलु हिंसाका कुल उजुरीमध्ये ७६ प्रतिशत (४३ वटा) र सामाजिक हिंसाका कुल उजुरीमध्ये ५६ प्रतिशत (४५ वटा) उजुरी वीरगन्ज महानगरपालिकाबाट मात्रै दर्ता भएका छन्।

पर्सा जिल्लामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी कुल १४ वटा स्थानीय तह छन्। अन्य पालिकाको तुलनामा वीरगन्जमा उजुरीको संख्या बढी देखिनुमा जनघनत्व र चेतना मुख्य कारण रहेको सरोकारवालाहरूको भनाइ छ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार महानगरमा बसोबास गर्ने महिलाहरू आफ्नो अधिकारप्रति बढी जागरूक भएकाले उजुरीको संख्या बढी देखिएको हो। उहाँले भन्नुभयो, “अन्य पालिकाको तुलनामा यहाँका महिलाहरू अन्याय सहनु हुँदैन भन्ने कुरामा सचेत छन्।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपि) सुदीपराज पाठकका अनुसार पुस महिनामा दर्ता भएका ५७ घरेलु हिंसाका उजुरीमध्ये २९ वटा फर्छ्यौट भएका छन् भने २८ वटा बाँकी छन्। त्यस्तै, ८१ सामाजिक हिंसाका उजुरीमध्ये ५३ वटा फर्छ्यौट भई २८ वटा प्रक्रियामा रहेका छन्।

प्रहरी उपरीक्षक पाठकले पछिल्लो समय उजुरी बढ्नुको अर्थ हिंसा नै बढेको भन्दा पनि प्रहरीप्रति नागरिकको विश्वास र कानुनी साक्षरता बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “तराईका ग्रामीण भेगमा अझै पनि घुम्टो प्रथा र सामाजिक दबाबका कारण महिलाहरू हिंसा सहेर बस्ने गरेका छन्, जसले गर्दा त्यहाँ उजुरी कम देखिन्छ। तर, सहरी क्षेत्रका शिक्षित महिलाहरू आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरीसम्म पुग्ने गरेका छन्।”

प्रहरीका अनुसार महिला सेलमा उजुरी परेपछि सुरुमा पीडित र पीडक दुवै पक्षलाई राखेर छलफलमार्फत समस्या समाधान गर्ने प्रयास गरिन्छ। छलफलबाट कुरा नमिलेमा प्रचलित ऐन बमोजिम अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ। पटक-पटक हिंसा गर्नेहरूलाई मुलुकी अपराध संहिता अनुसार कानुनी प्रक्रिया अगाडि बढाइने र पहिलो पटकको सामान्य घटनामा भने सम्झाई-बुझाई गरी घर पठाउने गरिएको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस