पर्सा-
निर्वाचन क्षेत्र नम्बर २ मा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दाले चुनावी माहोल गर्माएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रभावशाली नेतृ एवं पूर्व सांसद बिना जयसवाल कुर्मीले मंगलबार सयौँ समर्थकहरूको शक्ति प्रदर्शनका साथ प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएसँगै यहाँको चुनावी प्रतिस्पर्धा ‘त्रिकोणात्मक’ मोडमा पुगेको छ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग आक्रामक रूपमा प्रस्तुत हुँदै कुर्मीले वर्तमान व्यवस्थामाथि कडा प्रहार गरिन्। उनले भनिन्, “नेपालजस्तो देशमा संघीयता सेतो हात्ती सावित भयो। गणतन्त्रको नाममा नेताहरूले देश लुटे। अब देश बचाउन राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्रको विकल्प छैन।”
आफ्ना प्रतिस्पर्धी दलहरूप्रति लक्षित गर्दै बिना जयसवालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गम्भीर आरोप लगाइन्। उनले केही दलहरूले मधेसी अनुहारलाई ‘प्रयोग’ गरेर मधेसको सेन्टिमेन्ट लिन खोजेको र विदेशी चलखेल बढाएको दाबी गरिन्। “मधेसको अधिकारका लागि लड्ने हामी हौँ, बाहिरबाट आएका नयाँ शक्तिहरूले मधेसी अनुहार देखाएर जनतालाई ठग्न खोज्दैछन्, तर पर्साका जनता अब सचेत छन्,” उनले भनिन्।
हालैको ‘जेन–जी’ विद्रोहपछिको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै उनले युवाहरूको रोजगारी र सुरक्षाको ग्यारेन्टी आफ्नो पहिलो प्राथमिकता रहेको बताइन्। समानुपातिक सांसदका रूपमा अनुभव बटुलिसकेकी कुर्मीले यसपटक प्रत्यक्ष निर्वाचित भएर अधुरा कामहरू पूरा गर्ने संकल्प गरिन्।
आफ्नो आधार क्षेत्रमा बलियो पकड भएकी बिना जयसवालको उम्मेदवारीले एमाले, जसपा र रास्वपाका उम्मेदवारहरूलाई निकै ठूलो चुनौती दिएको छ। उग्र मधेसवाद र हिन्दुत्वको मिश्रित एजेन्डाले गर्दा पर्सा–२ को चुनावी भिडन्त यसपटक ‘हाइ-भोल्टेज’ हुने निश्चित देखिएको छ।














