२०८२ माघ ७ गते, बुधबार ०९:३८

पर्सामा चुनावी महासंग्राम: ४ क्षेत्रका लागि १०९ उम्मेदवार मैदानमा, हेभीवेट नेताहरूबीच ‘हाइ–भोल्टेज’ भिडन्त

वीरगन्ज-

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ४ सिटका लागि कुल १०९ जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

कुन क्षेत्रमा कति उम्मेदवार? निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छन्। तथ्याङ्क अनुसार:

  • क्षेत्र नम्बर १: ३० जना

  • क्षेत्र नम्बर २: ३२ जना

  • क्षेत्र नम्बर ३: २३ जना

  • क्षेत्र नम्बर ४: २४ जना

क्षेत्र नम्बर १: त्रिकोणात्मक भिडन्तको संकेत व्यापारिक नगरी वीरगञ्ज समेटिएको क्षेत्र नम्बर १ मा एमालेका प्रदीप यादव, कांग्रेसका अनिलकुमार रुंगटा, जसपाका रामनरेश यादव र रास्वपाका हरि पन्तबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ नयाँ शक्ति र पुराना स्थापित दलहरूबीचको लडाइँले मतदातालाई निकै आकर्षित गरेको छ।

क्षेत्र नम्बर २: सबैभन्दा धेरै उम्मेदवार सबैभन्दा बढी ३२ जना उम्मेदवार रहेको यस क्षेत्रमा पूर्वमन्त्री एवं कांग्रेस नेता अजयकुमार चौरसिया, एमालेकी रिमा यादव र जसपाका अशोक टेमानी लगायतका हेभीवेट उम्मेदवारहरू चुनावी मैदानमा छन्। राप्रपाकी बिना जयसवालको उम्मेदवारीले यहाँको समीकरणलाई झन् चुनौतीपूर्ण बनाएको छ।

क्षेत्र नम्बर ३ र ४: ग्रामीण भेगमा ‘हेभीवेट’ टक्कर पर्साको ग्रामीण भेगमा पनि प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, एमालेका रुपेश पाण्डे र जसपाका कमोद निरालाबीच कडा टक्करको आकलन गरिएको छ।

त्यसैगरी, क्षेत्र नम्बर ४ मा कांग्रेसका पूर्वमन्त्री रमेश रिजाल, एमालेका जालिम मियाँ अन्सारी र रास्वपाका टेकबहादुर शाक्य चुनावी दौडमा छन्। मधेस आन्दोलनको केन्द्र मानिने पर्सामा यसपटक पुराना नेताहरूको विरासत जोगाउने चुनौती र नयाँ अनुहारहरूको उदय हुने सम्भावनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस