मलंगवा (सर्लाही) –
सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एक सरकारी कर्मचारीको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद यादवको अज्ञात समूहले उनकै डेरामा गोली हानी हत्या गरेको हो ।
सिरहाको सुखीपुर नगरपालिका घर भई विगत एक वर्षदेखि मलंगवामा कार्यरत यादवलाई मलंगवा नगरपालिका-१०, अदालत नजिकै रहेको उनको भाडाको घरमा आक्रमण गरिएको थियो । आइतबार राति करिब ८ बजेको समयमा डेराको बरण्डामा बसिरहेका बेला मोटरसाइकलमा आएका हतियारधारी समूहले उनीमाथि गोली प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार यादवको बायाँ छाती (मुटुको ठ्याक्कै मुनि) गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पताल ल्याउनुअघि नै उनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयले सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारेको छ । प्रहरीले जिल्लाका विभिन्न नाका तथा शंकास्पद स्थानहरूमा ‘सर्च अपरेसन’ तीव्र पारेको छ ।
“आक्रमणकारीहरू कति जना थिए र कुन मोटरसाइकलमा आएका थिए भन्नेबारे अहिले नै यकिन भइसकेको छैन,” डीएसपी राईले भने, “हामीले घटनाको गम्भीर अनुसन्धान सुरु गरिसकेका छौँ, दोषी छिट्टै कानुनी दायरामा आउनेछन् ।”
मृतक यादवका दुई वर्षकी एक छोरी छिन् । शान्त स्वभावका कर्मचारीको यसरी कार्यक्षेत्रमै हत्या भएपछि निजामती कर्मचारीहरू र स्थानीयबासी त्रसित बनेका छन् । हत्याको कारण व्यक्तिगत रिसइबी वा पेसागत विषय के हो भन्नेबारे प्रहरीले खुलाएको छैन ।














