वीरगन्ज-
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्साका युवा नेता कञ्चन झालाई केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्वाचन रणनीतिअनुसार झालाई यो महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो ।
पार्टीका केन्द्रीय प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले झालाई मनोनयन पत्र प्रदान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन र समानुपातिकतर्फको मत वृद्धि गर्ने मुख्य उद्देश्यका साथ झालाई समितिमा समावेश गरिएको पार्टीले जनाएको छ ।
पछिल्लो समय पर्सा क्षेत्रमा सक्रिय रूपमा संगठन विस्तार र युवाहरूलाई पार्टीको मूलधारमा जोड्न झाले खेलेको भूमिकाको कदर गर्दै उनलाई केन्द्रीय तहको जिम्मेवारी दिइएको बुझिएको छ । जिल्लास्तरमा प्रभावशाली छवि बनाएका झालाई केन्द्रीय प्रचार टोलीमा समेटिनुलाई कांग्रेसभित्र युवा नेतृत्वमाथिको विश्वास र आकर्षणका रूपमा हेरिएको छ ।
मनोनयनपछि प्रतिक्रिया दिँदै नेता झाले पार्टीले आफूमाथि गरेको विश्वासलाई इमानदारी र उच्च सक्रियताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आगामी निर्वाचनमा पार्टीको पक्षमा बलियो जनमत निर्माण गर्न र कांग्रेसको एजेन्डालाई आम मतदातासम्म पुर्याउन म सशक्त रूपमा लाग्नेछु,” झाले भन्नुभयो ।
पार्टीले फागुन २१ को निर्वाचनका लागि देशैभर प्रचार–प्रसार अभियानलाई डिजिटल र ग्राउन्ड लेभलमा प्रभावकारी बनाउने रणनीति लिएको छ, जसमा झा जस्ता युवा नेतृत्वको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।














