२०८२ फाल्गुन ४ गते, सोमबार २१:०६

पूर्वमन्त्री यादवको गढ मनियारीमा रास्वपाको शक्ति प्रदर्शन, पन्तलाई भव्य स्वागत

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अगाडि बढाएको छ। यसै क्रममा आइतबार पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता हाल एमाले बाट क्षेत्र नम्बर १  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप यादवको गृहगाउँ मनियारीमा रास्वपाका उम्मेदवार हरि पन्तलाई स्थानीयले भव्य स्वागत गरेका छन्। मन्त्री भइसकेका नेताको आफ्नै गढ मानिने क्षेत्रमा विपक्षी उम्मेदवारलाई मिलेको यो जनसमर्थनले पर्साको आगामी चुनावी समीकरणमा नयाँ मोड ल्याउने संकेत गरेको छ।

पर्सा जिल्ला सभापति समेत रहेका उम्मेदवार पन्त घरदैलो तथा मतदाता भेटघाटको सिलसिलामा मनियारी पुग्दा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा मतदाताहरूले मुलुकको विद्यमान राजनीतिक अस्थिरता, आर्थिक संकट र सामाजिक समस्याहरूबारे पन्तसँग चासो राखेका थिए। वर्षौँदेखि एउटै अनुहारलाई जिताउँदा पनि क्षेत्रको अवस्था नफेरिएको गुनासो गरिरहेका स्थानीयलाई सम्बोधन गर्दै पन्तले अब मुलुकको बागडोर रास्वपाले सम्हाल्ने दाबी गरे। उनले आफ्नो क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमा जोड्नका लागि यसपटक ‘घण्टी’ मा मतदान गर्न आग्रह गर्दै स्थापित भनिएका नेताहरूले जनताको आधारभूत आवश्यकतामाथि खेलबाड गरेको भन्दै कडा कटाक्ष गरे।

मनियारीको घरदैलो कार्यक्रममा रास्वपा महानगर सहसचिव मुन्ना साह, स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रन्जित यादव, विवेक यादव, विजय साह, राजकिशोर यादव र ललन पटेल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

यसैबीच, आइतबार नै पर्साका विभिन्न स्थानमा गरी एक हजारभन्दा बढी व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। बेल्वामा राम प्रीत यादव, रमेश्वर यादव, मुन्नी लाल साह र हबिस मिया लगायतको नेतृत्वमा ठूलो समूह रास्वपामा समाहित भएको छ। त्यस्तै, श्रीपुरमा जसपा युवा संघका सचिव त्रिनेश गिरीको नेतृत्वमा गजेन्द्र महतो, अजय महतो र विवेक ठाकुर लगायतका युवाहरूले पार्टी प्रवेश गरेका छन् भने ज्योति स्पिनिङ क्षेत्रमा अवध किशोर यादव र राम नरेश यादवको नेतृत्वमा मजदुर तथा स्थानीयहरू रास्वपामा प्रवेश गरेका छन्। पूर्वमन्त्रीको गृहगाउँमै देखिएको यो आकर्षण र सामूहिक पार्टी प्रवेशले पर्सा क्षेत्र नम्बर १ मा रास्वपाको ‘क्रेज’ बढ्दै गएको पुष्टि गरेको छ।

पोडकास्ट सुन्नुहोस