२०८२ चैत्र २३ गते, सोमबार १६:०६

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) –

महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित प्रसिद्ध धार्मिक स्थल बागेश्वर धाममा ३०० गरिब तथा असहाय कन्याहरूको सामूहिक विवाह भव्यताका साथ सम्पन्न भएको छ। बागेश्वर धाम सरकारका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको संरक्षकत्वमा आयोजित यस सातौँ संस्करणको सामूहिक विवाह महोत्सवमा नेपालकी एक कन्यासहित ३०० जोडी वैवाहिक बन्धनमा बाँधिएका हुन्।

धामका शिष्य कन्हैया पटेलका अनुसार मन्दिरको दानपेटीमा भक्तजनले चढाएको रकमलाई सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्य अनुरूप यो अभियान सञ्चालन गरिएको हो। “मन्दिरको भेटीबाट गरिब छोरीहरूको विवाह, भण्डारा, गुरुकुल सञ्चालन र क्यान्सर अस्पताल निर्माणजस्ता कार्य गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो,” पटेलले जानकारी दिए। यसपटकको विवाहका लागि ४० सदस्यीय टोलीले दुई महिना लगाएर करिब ३० हजार किलोमिटर यात्रा गरी घर–घर पुगेर वास्तविक असहाय कन्याहरूको छनोट गरेको थियो, जसमा १०८ आदिवासी कन्याहरू समेत समेटिएका छन्।

विवाह समारोहमा धीरेन्द्र कृष्ण शास्त्रीले कन्याहरूको ‘धर्मपिता’ को भूमिका निर्वाह गरेका थिए। उनले प्रत्येक जोडीलाई आशीर्वाद स्वरूप सम्पूर्ण आवश्यक घरायसी सामग्री, सुन–चाँदीका गरगहना र नगद ३० हजार भारतीय रुपैयाँ उपहार प्रदान गरे। शास्त्रीले अहिलेसम्म कुल १६८० कन्याको कन्यादान गरी उनीहरूको अभिभावकत्व ग्रहण गरिसकेका छन्।

वैदिक विधिअनुसार सम्पन्न विवाह महोत्सवमा कलश यात्रा, हल्दी–मेहन्दी, बरात स्वागत, जयमाला र सप्तपदी (फेरे) लगायतका संस्कारहरू धुमधामका साथ गरिएका थिए। समारोहमा विश्वका ९ देशका राजदूत, विभिन्न देशका साधु–सन्त, प्रसिद्ध कथावाचक, राजनीतिक नेतृत्व, कलाकार र लाखौँ भक्तजनहरूको उपस्थिति रहेको थियो। विवाहपश्चात् आयोजित विशाल भण्डारामा हजारौँले प्रसाद ग्रहण गरेका थिए।

हिन्दुत्व र सनातन धर्मको प्रचारसँगै बागेश्वर धामले ठूला सामाजिक परियोजनाहरू पनि अघि सारेको छ। मन्दिर परिसरमै सन् २०२७ भित्र गरिब तथा असहायका लागि पूर्णतः निःशुल्क उपचार हुने क्यान्सर अस्पताल निर्माण गर्ने योजना रहेको धामले जनाएको छ। मन्दिर परिसरभित्रै निर्माण हुने यो विश्वकै पहिलो यस्तो अस्पताल हुने दाबी गरिएको छ।

पोडकास्ट सुन्नुहोस