२०८३ असार २१ गते, आईतवार ०१:५३

राष्ट्रिय औसतभन्दा निकै कमजोर मधेसको अर्थतन्त्र, वृद्धि दर १.३१ प्रतिशतमा सीमित

वीरगन्ज-

चालु आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको आर्थिक अवस्था देशकै सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार मधेस प्रदेशको आर्थिक वृद्धिदर केवल १.३१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा निकै कम हो ।

गत आर्थिक वर्षमा ४.४३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको मधेस यस वर्ष भने तीव्र गिरावटतर्फ गएको देखिएको छ । कृषि उत्पादनमा आएको सुस्तता, सीमित औद्योगिक विस्तार तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउँदा मधेसको वृद्धि दर कमजोर बनेको विश्लेषण गरिएको छ ।

यस वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ५.४० प्रतिशत रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेश ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कोशीको ३.१३, लुम्बिनीको २.८७, कर्णालीको २.९४ र सुदूरपश्चिमको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।

अर्थतन्त्रमा मधेसको योगदान उल्लेख्य, तर वृद्धि सुस्त

आर्थिक वृद्धिदर कमजोर भए पनि राष्ट्रिय अर्थतन्त्रमा मधेस प्रदेशको योगदान भने उल्लेख्य रहेको छ । चालु आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएकोमा मधेस प्रदेशको हिस्सा ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत रहनेछ ।

यो योगदानका आधारमा मधेस देशको चौथो ठूलो अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ । तर, उत्पादन र लगानी वृद्धि सुस्त हुँदा प्रदेशको समग्र आर्थिक क्षमता अपेक्षित रूपमा विस्तार हुन नसकेको देखिएको छ ।

कृषिमा निर्भर मधेस, तर कृषि क्षेत्रमै ऋणात्मक वृद्धि

तथ्यांक कार्यालयका अनुसार मधेस प्रदेशको अर्थतन्त्र अझै पनि मुख्य रूपमा कृषिमा आधारित छ । तर विडम्बना, यस वर्ष मधेसको कृषि क्षेत्रकै वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ ।

प्रदेशमा उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रले पर्याप्त गति लिन नसक्दा कृषिमाथिको अत्यधिक निर्भरता कायम रहेको छ । व्यापार क्षेत्र मधेसमा दोस्रो ठूलो आर्थिक गतिविधिका रूपमा रहेको भए पनि त्यसले प्रदेशको समग्र आर्थिक सुस्तता हटाउन सकेको छैन ।

प्रतिव्यक्ति आयमा पनि मधेस सबैभन्दा पछाडि

प्रतिव्यक्ति आयको हिसाबले पनि मधेस प्रदेश देशकै सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिँदा मधेसको प्रतिव्यक्ति आय केवल ९ सय ३४ डलर रहने प्रक्षेपण गरिएको छ ।

यसको तुलना गर्दा बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर पुगेको छ भने गण्डकी १ हजार ६ सय ५१ डलरसहित दोस्रो स्थानमा रहेको छ ।

विकासको गति सुस्त हुनुका कारण

विश्लेषकहरूका अनुसार मधेसमा कृषि आधुनिकीकरणको अभाव, उद्योग क्षेत्रमा न्यून लगानी, बेरोजगारी, सीमित उत्पादनमूलक गतिविधि तथा पूर्वाधार विकासको ढिलाइले आर्थिक वृद्धिमा प्रत्यक्ष असर परेको छ ।

विशेषगरी कृषि क्षेत्रमा देखिएको गिरावटले मधेसको समग्र अर्थतन्त्रलाई कमजोर बनाएको देखिन्छ । मधेसमा विद्युत्, ग्यास तथा व्यापार क्षेत्रको विस्तार सम्भावना भए पनि त्यसअनुसार लगानी र नीतिगत प्रभावकारिता नदेखिएको अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस