२०८३ जेष्ठ ६ गते, बुधबार १७:५६

राष्ट्रिय औसतभन्दा निकै कमजोर मधेसको अर्थतन्त्र, वृद्धि दर १.३१ प्रतिशतमा सीमित

वीरगन्ज-

चालु आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको आर्थिक अवस्था देशकै सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार मधेस प्रदेशको आर्थिक वृद्धिदर केवल १.३१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा निकै कम हो ।

गत आर्थिक वर्षमा ४.४३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको मधेस यस वर्ष भने तीव्र गिरावटतर्फ गएको देखिएको छ । कृषि उत्पादनमा आएको सुस्तता, सीमित औद्योगिक विस्तार तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउँदा मधेसको वृद्धि दर कमजोर बनेको विश्लेषण गरिएको छ ।

यस वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ५.४० प्रतिशत रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेश ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कोशीको ३.१३, लुम्बिनीको २.८७, कर्णालीको २.९४ र सुदूरपश्चिमको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।

अर्थतन्त्रमा मधेसको योगदान उल्लेख्य, तर वृद्धि सुस्त

आर्थिक वृद्धिदर कमजोर भए पनि राष्ट्रिय अर्थतन्त्रमा मधेस प्रदेशको योगदान भने उल्लेख्य रहेको छ । चालु आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएकोमा मधेस प्रदेशको हिस्सा ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत रहनेछ ।

यो योगदानका आधारमा मधेस देशको चौथो ठूलो अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ । तर, उत्पादन र लगानी वृद्धि सुस्त हुँदा प्रदेशको समग्र आर्थिक क्षमता अपेक्षित रूपमा विस्तार हुन नसकेको देखिएको छ ।

कृषिमा निर्भर मधेस, तर कृषि क्षेत्रमै ऋणात्मक वृद्धि

तथ्यांक कार्यालयका अनुसार मधेस प्रदेशको अर्थतन्त्र अझै पनि मुख्य रूपमा कृषिमा आधारित छ । तर विडम्बना, यस वर्ष मधेसको कृषि क्षेत्रकै वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ ।

प्रदेशमा उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रले पर्याप्त गति लिन नसक्दा कृषिमाथिको अत्यधिक निर्भरता कायम रहेको छ । व्यापार क्षेत्र मधेसमा दोस्रो ठूलो आर्थिक गतिविधिका रूपमा रहेको भए पनि त्यसले प्रदेशको समग्र आर्थिक सुस्तता हटाउन सकेको छैन ।

प्रतिव्यक्ति आयमा पनि मधेस सबैभन्दा पछाडि

प्रतिव्यक्ति आयको हिसाबले पनि मधेस प्रदेश देशकै सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिँदा मधेसको प्रतिव्यक्ति आय केवल ९ सय ३४ डलर रहने प्रक्षेपण गरिएको छ ।

यसको तुलना गर्दा बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर पुगेको छ भने गण्डकी १ हजार ६ सय ५१ डलरसहित दोस्रो स्थानमा रहेको छ ।

विकासको गति सुस्त हुनुका कारण

विश्लेषकहरूका अनुसार मधेसमा कृषि आधुनिकीकरणको अभाव, उद्योग क्षेत्रमा न्यून लगानी, बेरोजगारी, सीमित उत्पादनमूलक गतिविधि तथा पूर्वाधार विकासको ढिलाइले आर्थिक वृद्धिमा प्रत्यक्ष असर परेको छ ।

विशेषगरी कृषि क्षेत्रमा देखिएको गिरावटले मधेसको समग्र अर्थतन्त्रलाई कमजोर बनाएको देखिन्छ । मधेसमा विद्युत्, ग्यास तथा व्यापार क्षेत्रको विस्तार सम्भावना भए पनि त्यसअनुसार लगानी र नीतिगत प्रभावकारिता नदेखिएको अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस