वीरगन्ज–
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यलाई द्रुत र सहज बनाउन नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई कडा निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एक सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सम्पूर्ण इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाको समयमा पनि सेवा सुचारु राख्न निर्देशन दिएको हो।
रसुवालगायतका जिल्लामा आएको बाढी-पहिरोजस्ता भीषण प्राकृतिक विपद्बाट प्रभावित सर्वसाधारणलाई राहत रकम भुक्तानी, रकम स्थानान्तरण तथा अन्य अत्यावश्यक वित्तीय कारोबारमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो कदम चालेको हो।
निर्देशनअनुसार २०८३ भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म परेको लगातारको सार्वजनिक बिदाका दिनहरूमा समेत बैंकहरूले अत्यावश्यक सेवा खुला राख्नुपर्नेछ।
साथै, कुन-कुन शाखाबाट कुन समयमा अत्यावश्यक सेवा प्रदान गरिनेछ भन्नेबारे सर्वसाधारण तथा सम्बन्धित सरोकारवालाहरूलाई उपयुक्त माध्यम (सूचना वा सामाजिक सञ्जाल) मार्फत तुरुन्त जानकारी गराउनसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ताकेता गरेको छ।












