काठमाडौं –
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो । तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा भाद्र १७ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी विभिन्न निर्णय गरेको हो ।
बैठकले आगामी असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।
रसुवा, नुवाकोट र धादिङमा भने भोटेकोशी बाढीबाट प्रभावित भएकाले अधिवेशनको कार्यतालिका पछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ । विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशनसम्बन्धी कार्यतालिका आवश्यक परामर्शपछि सार्वजनिक गरिने भएको छ ।
बैठकले १५औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत समिति गठन गर्ने जिम्मेवारी संयोजक शशांक कोइरालालाई दिएको छ ।
त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ ।
कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन तयारी समिति गठनका लागि सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यको सिफारिसमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
केन्द्रीय प्रतिनिधिले भाद्र २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भाद्र २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्नेछ ।
विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन तयारी समिति भने आवश्यक परामर्श गरी सचिवालयले गठन गर्ने भएको छ ।
बैठकले वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार नयाँ क्रियाशील सदस्य, १४औँ महाधिवेशनमा सहभागी सबै क्रियाशील सदस्य, १५औँ महाधिवेशनमा सहभागी हुने गरी १४औँ महाधिवेशनमा निर्णय गरेका सदस्य, २०८२ पुस १० गतेभित्र सदस्यता नवीकरण गरिसकेका तथा सोही मितिभित्र क्रियाशील सदस्यताको फारम भरिसकेका नयाँ सदस्यले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने कांग्रेसले जनाएको छ ।
महाधिवेशन तथा अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला तथा जिल्लामार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तथा मतदान अधिकृत पठाउने निर्णय गरेको छ ।
यसैगरी, प्रदेशसभा र स्थानीय तह निर्वाचनका लागि सम्बन्धित तह तथा समितिले इच्छुक उम्मेदवारहरूको नामावली संकलन गर्ने र उपयुक्त उम्मेदवार छनोटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती भदौ २४ गते भक्तपुरमा मनाउने भएको छ ।
कार्यक्रम व्यवस्थापनका लागि कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।












