२०८३ भाद्र १९ गते, शुक्रबार १२:२३

सुनचाँदी व्यापारमा मन्दीबीच पनि मुन्ना सर्राफको मानवीय पहल, बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग

वीरगन्ज –

सुनचाँदीको कारोबार लगातार ओरालो लागिरहेका बेला वीरगन्जका सुनचाँदी व्यवसायी तथा वरिष्ठ समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले विपद्मा परेका नागरिकको पीडामा साथ दिँदै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

वीरगन्ज–९ पानगल्लीस्थित नीरज ज्वेलर्स प्रालिका सञ्चालकसमेत रहेका सर्राफले आफ्नो व्यक्तिगततर्फबाट उक्त रकम सहयोग गरेका हुन्। उनले बिहीबार सिटिजन्स बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ जम्मा गरेका हुन्।

व्यवसायिक क्षेत्रमै चुनौतीपूर्ण अवस्था रहेको र सुनचाँदीको कारोबारमा लगातार गिरावट आइरहेको परिस्थितिमा समेत सर्राफले विपद्पीडितका लागि गरेको आर्थिक सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएका छन्। यस्तो विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले आर्थिक सहयोग गरेको सर्राफले बताए।

‘विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व हो,’ सर्राफले भने, ‘आफ्नो क्षमताअनुसार गरेको सानो सहयोगले पनि पीडित परिवारलाई केही राहत मिल्छ भन्ने विश्वास छ।’

उनले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गरेका छन्। विपद्पछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको आवश्यकता अझै रहेकाले निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा सर्वसाधारण सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

सुनचाँदी व्यवसायमा आएको मन्दीका कारण व्यवसायीहरू स्वयं चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला पनि सर्राफले सामाजिक सेवाको दायित्वलाई निरन्तरता दिएका हुन्। यसले व्यापारिक कठिनाइभन्दा मानवीय संवेदनालाई माथि राख्ने व्यवसायीको सामाजिक भूमिकालाई समेत उजागर गरेको छ।

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि सर्राफले गरेको यो सहयोगले राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको सहभागितालाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस