वीरगन्ज –
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप व्यक्तिको आवाज सुनिएपछि उद्धार अभियानमा नयाँ आशा पलाएको छ। यसअघि सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको अवस्थामा फेरि आवाज सुनिनुले सुरुङभित्र अझै अन्य व्यक्ति जीवित रहेको सम्भावना बलियो बनाएको छ।
शुक्रबार बिहान सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेर फसेका व्यक्तिसम्म पुग्ने प्रयासमा जुटेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ। सुरुङभित्रबाट आएको आवाजलाई उद्धारकर्मीहरूले जीवित व्यक्तिको संकेतका रूपमा लिँदै खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका छन्।
यसअघि बाढी आएको १०औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरेका छन् । उद्धार गरिएकामा सप्तरीका ३० वर्षीय सञ्जय साह र काठमाडौंका ४५ वर्षीय कबीर महर्जन रहेका छन्।
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। सुरुङबाट सकुशल बाहिर निकालिएपछि उनीहरूलाई तत्काल उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
दुई जनाको जीवितै उद्धारपछि सुरुङभित्रबाट फेरि आवाज सुनिनुले बाँकी व्यक्तिहरू पनि जीवितै रहेको हुनसक्ने आशा थप बलियो भएको छ। उद्धार टोलीले सुरुङभित्रको कठिन परिस्थितिका बीच आवाज आएको स्थान पहिचान गरी त्यहाँसम्म पुग्ने प्रयास गरिरहेको छ।
यसअघि पनि उद्धारका क्रममा सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको थियो। उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै आश्वस्त पारेपछि भित्रबाट प्रतिक्रिया आएको थियो।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली अहिले सुरुङभित्र प्रवेश गरी थप व्यक्तिको खोजी तथा उद्धारमा केन्द्रित छ। उद्धारकर्मीहरूका लागि सुरुङभित्रबाट आएको प्रत्येक आवाज अहिले जीवनको सम्भावनाको महत्वपूर्ण संकेत बनेको छ।











