संखुवासभा –
विनाशकारी बाढीमा परी सयौँ नागरिकले ज्यान गुमाएको शोकमा सिंगो देश डुबिरहेका बेला संखुवासभामा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहार गरी कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार राईमाथि बिहीबार राति करिब ७ बजे गोली प्रहार भएको थियो। विद्यालयमै बस्दै आएका राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला विद्यालय नजिकैबाट उनीमाथि भरुवा बन्दुक प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गोली लागेपछि राईको देब्रे कोखाबाट रगत बगेको थियो। गोलीको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले बताएकी छन्।
बाढी र पहिरोको विपत्तिले देशभर त्रास र शोकको वातावरण रहेका बेला भएको शिक्षक हत्याले स्थानीय क्षेत्रमा थप भय र सन्त्रास फैलाएको छ। विद्यालय परिसरमै शिक्षकको गोली हानी हत्या भएपछि घटनाले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।
प्रहरीका अनुसार शिक्षक राईमाथि विद्यालय नजिकैबाट भरुवा बन्दुक प्रहार गरिएको देखिएको छ। यद्यपि गोली कसले र किन चलायो भन्ने विषय अहिलेसम्म खुलेको छैन। हत्यामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट समेत प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी अनुसन्धान टोलीलाई घटनास्थल पुग्नसमेत कठिनाइ भएको छ।
देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण ठूलो मानवीय क्षति भइरहेका बेला भएको यो घटनाले संकटको समयमा समेत नागरिकको सुरक्षा चुनौतीपूर्ण रहेको तथ्यलाई उजागर गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।











