२०८३ भाद्र १९ गते, शुक्रबार १३:१७

बाढीपीडितका लागि भारतको सहयोग निरन्तर, छैटौँ र सातौँ खेपमा २१.५ टन राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौँ –

रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि मित्रराष्ट्र भारतले मानवीय सहायता निरन्तरता दिएको छ। भारतले छैटौँ र सातौँ खेपअन्तर्गत थप २१.५ टन राहत सामग्री नेपाल पठाएको छ।

राहत सामग्री बोकेका भारतीय वायुसेनाका दुई वटा सी-१३०जे विमान बिहीबार राति काठमाडौँ अवतरण गरेका हुन्। भारतले पठाएको पछिल्लो सहयोगमा जारी खोज, उद्धार तथा राहत अभियानका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्यसम्बन्धी उपकरण समावेश छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै विमानबाट ल्याइएका राहत सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। मन्त्रालयले यो सहयोगले बाढी प्रभावित क्षेत्रमा जारी राहत तथा उद्धार अभियानलाई थप सहयोग पुग्ने जनाएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहयोगलाई रसुवाको बाढी तथा पहिरोपछि भारतले नेपाललाई गर्दै आएको निरन्तर मानवीय सहयोगको अर्को कडीका रूपमा उल्लेख गरेका छन्।

भारतले विनाशकारी बाढीपछि तत्कालै राहत अभियान सुरु गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्ट २६ मा १० टन सामग्री लिएर नेपाल आएको थियो। उक्त खेपमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ किट, सोलार बत्ती तथा औषधि थिए।

त्यसको भोलिपल्ट अर्थात् अगस्ट २७ मा दोस्रो विमानमार्फत ३७.५ टन राहत सामग्री नेपाल ल्याइएको थियो। त्यसमा टेन्ट, कम्बल, सरसफाइ सामग्री, सोलार बत्ती, पानी तान्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि तथा खाद्यान्नलगायत सामग्री थिए।

त्यसपछि तेस्रो खेपमा थप १० टन राहत सामग्री नेपाल आइपुगेको थियो। अगस्ट ३० मा चौथो विमानमार्फत ११ टन राहत सामग्री पठाइएको थियो। उक्त खेपमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञ, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल तथा सरसफाइ किटलगायत सामग्री थिए।

त्यस्तै, सेप्टेम्बर २ मा भारतले पाँचौँ खेपमार्फत ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधि नेपाल पठाएको थियो।

पछिल्लो दुई खेपसमेत आइपुगेपछि बाढी तथा पहिरोपीडितका लागि भारतको राहत सहयोग लगातार विस्तार भइरहेको छ। खोज तथा उद्धारसँगै उपचार, राहत वितरण र प्रभावितको पहिचानमा आवश्यक सामग्री तथा जनशक्ति उपलब्ध गराउँदै भारतले नेपाललाई सहयोग गरिरहेको छ।

नेपाल अहिले विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो मानवीय क्षतिको सामना गरिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म बाढी तथा पहिरोमा परी १ हजार २९० जनाको मृत्यु भएको छ।

यस्तो गम्भीर मानवीय संकटका बेला भारतबाट लगातार राहत सामग्री, स्वास्थ्य उपकरण, फोरेन्सिक सामग्री र उद्धार जनशक्ति नेपाल आइपुग्नुले प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत अभियानमा महत्वपूर्ण सहयोग पुगेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस