२०८३ भाद्र १९ गते, शुक्रबार २३:२५

जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य 

काठमाडौं –

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य र अर्का एक जनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

जटिल अवस्थामा रहेका आयोजनाका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको छ । 

महर्जनलाई दोस्रो पटकमा सुरुङबाट बाहिर निकालिएको थियो । यसअघि सुरुमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य तथा स्थिर रहेको छ ।

अवस्था सामान्य भएपनि स्वास्थ्यमा कुनै जटिलता नआओस् भनेर थप परीक्षण तथा निगरानीका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै सुरुङभित्र जोखिमपूर्ण अपरेसन चलाएर उनीहरूको उद्धार गरेको हो ।

बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका भएलगत्तै सुरक्षाकर्मीको टोलीले लगातार खोज तथा उद्धार कार्य जारी राखेको थियो । सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।  

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस