२०८३ भाद्र १९ गते, शुक्रबार २३:१६

मधेसबाट हिमालसम्म मानवीय सहारा: ‘जेन जि पर्सा’ टोली रसुवा र नुवाकोटका बाढीपीडितको बसोबास स्थलमै पुगेर राहत हस्तान्तरण

वीरगन्ज

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई मधेसका युवाहरूले प्रत्यक्ष भेटेर राहत तथा मानवीय सहायता पुर्‍याएका छन्। ‘जेन जि पर्सा’ (Gen Z Parsa) को टोलीले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पुगी पीडितहरूको अवस्था बुझ्दै राहत सामग्री हस्तान्तरण गरेको हो।

जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा खटिएको टोलीले बाढीपीडितहरू अस्थायी रूपमा बसोबास गरिरहेको आश्रयस्थलमै पुगेर उनीहरूको समस्या र तत्कालीन आवश्यकताबारे जानकारी लिएको थियो। उक्त आश्रयस्थलमा हाल करिब ३०० जना बाढीपीडितहरू बसोबास गरिरहेका छन्।

विपद्‌को यस घडीमा पीडितहरूलाई तत्काल राहत मिलोस् भन्ने उद्देश्यले टोलीले चामल, चिउरा, बिस्कुट, फ्रुटी लगायतका खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

राहत हस्तान्तरणपछि जेन जि पर्साले यो अभियान सफल बनाउन राहत सामग्री सङ्कलन र व्यवस्थापनमा स्वतःस्फूर्त सहयोग गर्ने सम्पूर्ण वीरगञ्जवासी तथा पर्सावासीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

“पीडितको पीडा बुझ्ने, आवश्यकतामा साथ दिने र सङ्कटमा सहयोग गर्ने” प्रतिबद्धताका साथ अघि बढेको सो समूहले आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग जारी राख्ने जनाएको छ। साथै, प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धतासमेत टोलीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस