वीरगन्ज —
विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिको आयोजनामा आज वीरगन्जमा भव्य रूपमा दोस्रो ‘गहवामाई चुनरी यात्रा’ निकालिएको छ।
वीरगन्जको प्रसिद्ध माइस्थान (गहवामाई मन्दिर) बाट आज दिउँसो २ बजे सुरु भएको उक्त यात्राका क्रममा १५१ मिटर लामो चुनरी माता गहवामाईलाई अर्पण गर्दै नगरका विभिन्न भागको परिक्रमा गरिएको थियो। यात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्टाले देशमा आइपर्ने विभिन्न विपत्तिहरूबाट मुक्ति र राजनीतिक स्थिरताको कामना गर्दै विगत दुई वर्षदेखि चुनरी यात्राको परम्परा बसालिएको बताउनुभयो।
नगर परिक्रमाका क्रममा भक्तजनहरूले माता गहवामाईको जयकारा लगाउँदै धार्मिक भक्तिभावका साथ यात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गरेका थिए।












