वीरगन्ज-
वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती थपेको छ। वीरगन्ज महानगरपालिका–१६ स्थित मितेरी पुल क्षेत्रको सडक किनारमा ई–रिक्सा पार्किङ गराएबापत रकम असुली भइरहेको र त्यसले सडकमा अव्यवस्थित पार्किङ तथा जामको समस्या निम्त्याएको स्थानीयको आरोप छ।
मितेरी पुलको उत्तरतर्फ नेपाली भूभागमा पर्ने सडक किनारको खाली स्थानमा ई–रिक्सा रोकेर राखेबापत रौतहट निवासी अजय पासवानले प्रतिरिक्सा २५ रुपैयाँ पार्किङ शुल्क उठाउने गरेको स्थानीयले आरोप लगाएका छन्। उक्त स्थानमा सडकको दुवैतर्फ ई–रिक्सा दुईदेखि तीन लाइनसम्म पार्किङ गरिँदा मुख्य सडकमा सवारी आवागमन प्रभावित हुने, जाम लाग्ने तथा यात्रुहरूलाई आवतजावतमा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ। रकम असुलीको विषयलाई लिएर बेलाबेला स्थानीयसँग झैझगडासमेत हुने गरेको बताइएको छ।
इनर्वा निवासी मनिशराज यादवका अनुसार पासवानले आफ्ना चार–पाँच जना साथीलाई सडकमा परिचालन गरी अनधिकृत रूपमा रकम असुली गर्दै आएका छन्। यस विषयमा करिब १० दिनअघि वडा प्रहरी कार्यालय वीरतामा लिखित उजुरी दिँदा पनि सुनुवाइ नभएको उनले आरोप लगाए।
यादवका अनुसार वीरगन्ज–रक्सौल मार्गमा सञ्चालन हुने करिब १८० देखि २०० ई–रिक्साबाट दैनिक प्रतिरिक्सा २५ रुपैयाँ पार्किङ शुल्क तथा वीरगन्ज–रक्सौल ई–रिक्सा संघको नाममा प्रतिरिक्सा १०० रुपैयाँका दरले रकम असुली भइरहेको छ। उक्त विषयमा स्थानीय प्रशासनलाई लिखित रूपमा जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नभएको उनको दाबी छ।
पार्किङ शुल्क र संघको सदस्यता शुल्क संकलनको विषयलाई लिएर दिनहुँजसो विवाद हुने गरेको भए पनि समस्या समाधानका लागि प्रहरी तथा ट्राफिक प्रहरीबाट प्रभावकारी पहल नभएको यादवको गुनासो छ।
उनका अनुसार मितेरी पुलको पश्चिमतर्फ आफ्नो १६ कठ्ठाभन्दा बढी नम्बरी जग्गा रहेको र उक्त जग्गामा ई–रिक्सा पार्किङको व्यवस्था गर्दा सडकमा जाम नहुने तथा सवारी आवागमन सहज हुने थियो। तर, केही प्रहरी अधिकारीको कथित मिलेमतोमा सडक किनारमै रकम असुली भइरहेको कारण सडकमा विभिन्न समस्या उत्पन्न भएको उनको आरोप छ।
ई–रिक्सा चालकहरूले पनि रकम असुलीमा स्थानीय प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायका केही कर्मचारीको संलग्नता रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार ई–रिक्साबाट संकलित रकममध्ये इनर्वा प्रहरी कार्यालयलाई मासिक १८ हजार रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई मासिक २५ हजार रुपैयाँ नजराना बुझाउने गरिएको छ।
त्यसैगरी, मितेरी पुल क्षेत्रमा खटिने वीरगन्ज महानगरपालिकाका नगर प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीलाई दैनिक खाजाखर्चसमेत कथित रकम असुलीकर्ताले उपलब्ध गराउने गरेको चालकहरूको आरोप छ। यस्ता आरोपका कारण उक्त क्षेत्रमा अनधिकृत रकम असुलीले निरन्तरता पाएको उनीहरूको दाबी छ।
सीमाक्षेत्रमा ई–रिक्साका लागि व्यवस्थित तथा सुरक्षित पार्किङ स्थलको व्यवस्था गर्नुका साथै यात्रु ओसारपसारका लागि नम्बरिङ प्रणाली लागू गर्न सके सबैलाई सहज हुने ई–रिक्सा चालकहरूको सुझाव छ। तर, कथित रकम असुली र सम्बन्धित निकायको उदासीनताले दैनिकजसो विवाद तथा सडक जामको समस्या निम्त्याएको उनीहरूको गुनासो छ।
आफूले पार्किङ शुल्क नभई संघको सदस्यता शुल्क उठाएको पासवानको दाबी
रकम असुलीका विषयमा अजय पासवानसँग बुझ्दा उनले पार्किङ शुल्क नभई वीरगन्ज–रक्सौल ई–रिक्सा संघको सदस्यता शुल्क उठाउने गरेको बताएका छन्। संघमा आबद्ध ई–रिक्साबाट प्रतिदिन १०० रुपैयाँका दरले रकम संकलन गर्ने गरिएको र उक्त रकम उठाउने अनुमति स्थानीय प्रशासनले दिएको पासवानको दाबी छ।
उनले आफ्नो संघ कर कार्यालय, वीरगन्ज महानगरपालिका लगायत सम्बन्धित निकायमा दर्ता रहेकोसमेत बताएका छन्।
तर, संघमा आबद्ध सदस्यहरूबाट सडक किनारमै रकम उठाउनुको कारण तथा रकम संकलनका लागि संघको कार्यालयमा व्यवस्था किन नगरेको भन्ने प्रश्नमा पासवानले स्पष्ट जवाफ दिन चाहेनन्।
आफूले सडकबाट संकलन गरेको रकम संघको खातामा जम्मा गर्ने र सोही रकमबाट संघका सदस्य ई–रिक्सा चालक वा सवारीसाधनमा कुनै समस्या आइपरेको अवस्थामा खर्च गर्ने गरेको पासवानको दाबी छ।











