२०८३ मंसिर ४ गते, शुक्रबार २:५७

मेयरपुत्र अनिशमान सिंहको घर तोडफोड प्रकरण : उच्च अदालतद्वारा राजपुत र हुसेनलाई जनही २ लाख धरौटीमा रिहा गर्न आदेश

वीरगन्ज—

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका छोरा अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रञ्जन सिंह राजपुत र महमद अवु अयुव हुसेनलाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

बिहीबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको इजलास नम्बर १ का माननीय न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र शंकर खत्रीको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सोही प्रकरणमा संलग्न भनिएका लियाकत अलीको हकमा भने अदालतले पर्सा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको लियाकत अलीले जानकारी दिनुभयो।

के थियो घटना?

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा वीरगन्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी घरमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो। सोही घटनामा संलग्न रहेको अभियोगमा आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले राजपुत र हुसेनलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाउने आदेश दिएको थियो।

प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दामा धरौटीमा छुटेपछि राजपुतलाई पुनः पक्राउ गरी तोडफोड र आगजनी मुद्दामा अदालत पेस गरिएको थियो। प्रहरीले राजपुत ‘हिन्दु सम्राट सेना’ को उपाध्यक्ष रहेको र धर्मका नाममा आतंक सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाएको छ।

उच्च अदालतको आदेशसँगै राजपुत र हुसेन जनही दुई लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुने भएका छन् भने घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस