२०८२ असार ९ गते, सोमबार १८:४३

वीरगन्ज-

नेपाली पत्रकार महासङ्घ, पर्सा शाखाले वीरगन्जका  क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण सामाजिक सञ्जालमार्फत दिइएको धम्की र मानसिक दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासङ्घ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको प्रेस विज्ञप्तिमा सिधा कुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित एक समाचारलाई लिएर पत्रकार साहलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि भएको उल्लेख गरिएको छ ।

साहले केही दिन अगाडी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने विषय समाचार लेखेका थिए ।

महासङ्घका अनुसार उक्त समाचारपछि सामाजिक सञ्जालमा पत्रकार साहको फोटो प्रयोग गरी धम्कीपूर्ण स्ट्याटस लेख्नु र लेख्न लगाउनु अत्यन्त आपत्तिजनक कार्य हो ।

महासङ्घले यदि प्रकाशित समाचारप्रति कुनै असन्तोष भए कानुनी उपचारको बाटो अपनाउनुपर्नेमा सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार भएको ठहर गरेको छ । विगत केही समयदेखि सञ्चारकर्मीप्रति देखिएका विभिन्न प्रकारका धम्की र दुर्व्यवहारले लोकतन्त्रको पक्षमा उभिएका सञ्चारकर्मीमाथि असुरक्षा सिर्जना गरेको महासङ्घको भनाइ छ ।

महासङ्घले यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित पक्षलाई पत्रकारहरूमाथि गरिने दुर्व्यवहार रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घले यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित पक्षलाई पत्रकारहरूमाथि गरिने दुर्व्यवहार रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

पत्रकार महासङ्घले लोकतन्त्र र विधिको शासनको पक्षमा काम गर्ने सञ्चारकर्मीहरूलाई डर धम्कीबाट बचाउन सरकार, राजनीतिक दल र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकार साहविरुद्ध भइरहेको धम्कीपूर्ण गतिविधिको छानबिन गरी कानुनी कारबाही थाल्न जोडदार माग गरेको छ ।

महासङ्घले पत्रकारको सुरक्षा र सम्मानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको समेत दोहोर्‍याएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस