२०८३ कार्तिक १५ गते, शनिबार ११:२९

मधेसमा भारी वर्षाको जोखिम, आज पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान

वीरगन्ज –

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसममा आएको बदलावसँगै आज पनि मधेसका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार साँझदेखि नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

विशेषगरी मधेस प्रदेशमा मौसम थप सक्रिय हुने देखिएको छ। प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बादल लाग्ने पूर्वानुमान छ।

कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज अपराह्नदेखि यी मौसमी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ।

मौसममा आएको बदलावका कारण वर्षा, चट्याङ तथा सम्भावित विपद्बाट जोगिन विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस