२०८२ आश्विन २५ गते, शनिबार १५:४६

“योजना नै बाँडिएको छैन, कमिसन केको? :मन्त्री जयसवाल

वीरगन्ज-

मधेश प्रदेश सरकारमा खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवाल आफ्नो विरुद्ध लागाइएको योजना बिक्री र कमिसन लिने आरोपलाई निराधार ठहर्याउँदै आफ्नो पक्ष राखेका छन्।योप्य खबर संग कुरा गर्दे उनले भने, “ममाथि लागाइएको सम्पूर्ण आरोप निराधार हुन्, किनभने हालसम्म मेरो मन्त्रालयबाट कुनै पनि योजना बाँडिएको छैन। कुनै पनि कामको सुरुवात नै भएको छैन। यहाँसम्म कि कतिपय कर्मचारी पनि आफ्नो मन्त्रालयमा छैनन्। अनि योजना नै नबाँडिएको ठाउँमा मैले कसरी कमिसन लिने?”

मन्त्री जयसवालले मिडियामा आफ्नो विरुद्ध प्रकाशित समाचारलाई अफवाह बताउँदै भने, “कसैको स्वार्थ पूरा नहुँदा मलाई बदनाम गरियो। मिडियाको काम प्रमाणसहित र आधारसहित समाचार लेख्ने हो, न कि आफ्नो स्वार्थ पूरा नहुँदा अरूलाई बदनाम गर्ने हो।”

उनले आफूमाथि लागेका आरोपहरू खारेज गर्दै योजना बाँडिनु अघि नै कमिसनको कुरा उठाउनु अनुचित रहेको बताए। उनले मन्त्रालयको कार्यप्रणाली र योजनाहरूको प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाए।

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवालले योजनाहरुको कार्यादेश बिक्री गर्दा ८ प्रतिशत कमिसन लिँदै आएको आरोप लागेको छ। योजनाहरुको बिक्रीमा मन्त्रीहरु सक्रिय रहेका छन् भने सरकारले संकल्प प्रस्तावबाट उपभोक्ता समितिबाट काम गराउने मार्ग प्रशस्त गरेको छ।

सरकारले बजेट र नीति तथा कार्यक्रममा उपभोक्ता समिति मार्फत काम नगर्ने प्रतिबद्धता जनाए पनि मन्त्री र सांसदहरुले योजनाहरुको कार्यादेश आफ्नो नियन्त्रणमा लिएका छन्। मन्त्रीहरुले २० प्रतिशत अग्रीम कमिसन लिएर कार्यादेश बाँड्ने गरेका छन् भने केही मन्त्रीहरुले जिल्लागत रूपमा दलालहरु परिचालन गरेका छन्।

खेलकुद तथा समाजकल्याण मन्त्री जयसवालले ८ प्रतिशत कमिसन आफै बुझेर दलाललाई त्यसबाहेकको रकम लिने जिम्मा दिने गरेको बताइएको छ।

पोडकास्ट सुन्नुहोस