२०८२ मंसिर ५ गते, शुक्रबार १५:३१

नेपाली कांग्रेस पर्साद्वारा विद्यार्थी युनियन निर्वाचनमा एकताको लागि आह्वान

वीरगन्ज

नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्साले ठाकुर राम बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूलाई एकजुट भई नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समर्थन गर्न आह्वान गरेको छ।

जिल्ला अध्यक्ष जर्नादन सिंह क्षेत्रीद्वारा एक पत्रकार सम्मेलनको आयोजना गरि जारी गरिएको  हस्ताक्षरित विज्ञप्तिमा कृष्णप्रसाद भट्टराईले २०२७ सालमा स्थापना गरेको नेविसंघको ऐतिहासिक महत्वलाई उजागर गरिएको छ। विज्ञप्तिमा नेविसंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकालाई स्मरण गर्दै संगठनका शहीद र नेताहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।

समितिले नेविसंघका उम्मेदवार श्री विकास मण्डल धानुकको नेतृत्वमा निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गरेको छ। तराई–मधेस क्षेत्रको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघको विगतको विजयको इतिहासलाई स्मरण गर्दै विद्यार्थीहरूको संगठनप्रतिको स्नेह र वैचारिक आस्थाले यसपटक पनि जित सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ।

आन्तरिक प्रतिस्पर्धा र नेविसंघभित्रका केही स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिलाई स्वीकार गर्दै समितिले संगठनको जितलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई आग्रह गरेको छ। “कलम मसाल” झण्डालाई उच्च राख्न एकताको महत्त्वलाई जोड दिँदै सबै जिम्मेवार सदस्यहरूले यस कार्यमा योगदान गर्ने विश्वास नेपाली कांग्रेस पर्साले लिएको छ।

विज्ञप्तिमा विद्यार्थीहरूको शैक्षिक र वर्गीय हितहरूको संरक्षण र संवर्द्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउने अभियानमा “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता” को आदर्श बोकेको नेविसंघलाई विजयी बनाउन सबै लोकतन्त्रवादी दाजुभाइ, दिदीबहिनी र विद्यार्थीहरूलाई नेपाली कांग्रेस पर्साले हार्दिक अपिल गरेको छ। ठाकुर राम बहुमुखी क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पर्सामा पहिलो पटक हुन लागेकोले यसलाई महत्वपूर्ण घटनाको रूपमा हेरिएको छ।

पोडकास्ट सुन्नुहोस