२०८२ फाल्गुन ५ गते, मंगलवार २३:२८

प्रचण्डको आरोप: सरकारले कुलमानलाई हटाएर लोकलाई लज्जित पार्‍यो, माफियाको पक्षमा काम गर्‍यो

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर लोकलाई लज्जित पारेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुलमानलाई समर्थन गरेको झोँकमा सरकारले आफ्नै मन्त्रीलाई समेत निष्कासित गरेको आरोप लगाए। उनले यस्तो भनिरहँदा राज्यमन्त्रीबाट बर्खास्त भएका काँग्रेस सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले हात उठाएर समर्थन जनाए।

प्रचण्डले भने, “बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो। तर, अघिल्लो सरकारले भूमिहीन सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईँहरूलाई पलाएन। अहिले पनि कञ्जुस्याइँ गरेर नीति तथा कार्यक्रममा ‘गरिनेछ’ भनेर मात्र राख्नुभयो।”

उनले सरकारले माफियाहरूको पक्षमा कानून बनाएर भूमिसम्बन्धी समस्या समाधान नहुने जिकिर गरे। “माफियालाई संरक्षण गर्ने नीतिले न त भूमिहीनको समस्या समाधान हुन्छ, न त देशको हित हुन्छ,” उनले थपे।

पोडकास्ट सुन्नुहोस