२०८३ आश्विन १६ गते, शुक्रबार १५:३८

अमेरिका–इरान युद्ध फेरि चर्किने संकेत, मध्यपूर्वमा अमेरियाकाले थपयो ९ हजार सैनिक

काठमाडौँ –

अमेरिका र इरानबीच जारी द्वन्द्व तत्काल अन्त्य हुने संकेत नदेखिएका बेला मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि थप तीव्र बनेको छ। अमेरिकाले थप सैनिक तथा युद्धपोत मध्यपूर्वतर्फ पठाउन थालेपछि इरानसँग पुनः ठूलो सैन्य भिडन्त हुनसक्ने आशंका बढेको छ।

अमेरिकाले करिब ९ हजार सैनिकसहित तेस्रो विमानवाहक युद्धपोत समूह मध्यपूर्वतर्फ पठाइरहेको छ। यसमा यूएसएस थिओडोर रुजभेल्ट विमानवाहक युद्धपोत समूह र यूएसएस मकिन आइल्यान्ड एम्फिबियस रेडिनेस समूह छन्। यससँगै अक्टोबरको अन्त्यसम्म मध्यपूर्वमा अमेरिकी सैनिकको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एपीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो प्रस्ताव पर्याप्त नभएको बताएका छन्। उनले वार्ता असफल भए इरानमाथि पुनः सैन्य कारबाही बढाउने सम्भावना खुला राखेका छन्।

अमेरिकी आक्रमण पुनः सुरु भए इरानले यसपटक पहिलेभन्दा व्यापक र कडा जवाफी कारबाही गर्ने तयारी गरिरहेको छ।

रोयटर्सका अनुसार इरानी सैन्य नेतृत्वले अमेरिकी आक्रमण भए सम्भावित लक्ष्य, स्थान र कारबाहीको समयबारे योजना बनाइरहेको छ। यद्यपि तेहरानले कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयास पनि जारी राखेको छ। तर इरानी अधिकारीहरूले वार्ता सफल हुने सम्भावना कमजोर रहेको संकेत गरेका छन्।

अमेरिका–इरान तनावको अर्को महत्वपूर्ण केन्द्र होर्मुज जलडमरूमध्य बनेको छ। विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण यो समुद्री मार्गमा पछिल्लो घटनाले थप चिन्ता बढाएको छ।

अल जजीराका अनुसार करिब २५ लाख ब्यारेल तेल बोकेको सुपर ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भई आगलागी भएको छ। घटनाको जिम्मेवारी तत्काल स्पष्ट भएको छैन।

यसअघि पनि होर्मुज क्षेत्रमा तेल ट्यांकर तथा अन्य पानीजहाजलाई लक्षित गरी आक्रमणका घटना भएका थिए। सेप्टेम्बरमा अमेरिका र इरानबीच पानीजहाजलाई लक्षित गरी भएका आक्रमणले विश्व तेल बजारमा समेत असर पारेको रोयटर्सले जनाएको थियो।

इरानसँग तनाव बढिरहेका बेला अमेरिकाले आफ्ना खाडी साझेदारका महत्वपूर्ण ऊर्जा पूर्वाधारको सुरक्षा पनि बढाएको छ।

अमेरिकाले साउदी अरब र कतारमा थप दुईवटा प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले जनाएको छ। एउटा प्रणाली साउदी अरबको महत्वपूर्ण तेल पूर्वाधार र अर्को कतारको प्राकृतिक ग्यास पूर्वाधारको सुरक्षाका लागि पठाइएको हो।

इरानले यसअघि अमेरिका वा उसका सहयोगीबाट नयाँ आक्रमण भए खाडी क्षेत्रका ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारमा जवाफी कारबाही हुनसक्ने चेतावनी दिँदै आएको रोयटर्सले जनाएको छ।अमेरिका–इरान द्वन्द्वको प्रभाव यमनमा समेत देखिएको छ। इरानसमर्थित हुथी समूहले साउदी अरबलाई लक्षित गरी विभिन्न समयमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएको छ।

सेप्टेम्बरमा हुथीहरूले साउदी अरबको सैन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको र त्यसपछि क्षेत्रीय ऊर्जा आपूर्तिमाथि जोखिम बढेको रोयटर्सले जनाएको थियो।

यसले अमेरिका–इरान द्वन्द्व प्रत्यक्ष रूपमा दुई देशबीच मात्र सीमित नरही खाडी क्षेत्र र लालसागर आसपासका अन्य मोर्चामा समेत सुरक्षा जोखिम बढाएको छ।मध्यपूर्वमा बढ्दो सैन्य तनावको असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको छ।

अक्टोबर २ को प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १०२.६० डलर प्रतिब्यारेल पुगेको अल जजीराले रोयटर्सलाई उद्धृत गर्दै जनाएको छ। डब्लूटीआई पनि करिब ९३.१४ डलर प्रतिब्यारेल पुगेको थियो।

यसअघि सेप्टेम्बरमा होर्मुज तथा खाडी क्षेत्रमा बढेको तनावपछि ब्रेन्ट कच्चा तेलको मूल्य १०६ डलरभन्दा माथि पुगेको थियो।

कूटनीतिक प्रयास जारी, तर सैन्य तयारी पनि तीव्र

अमेरिका र इरानबीच कूटनीतिक सम्पर्कको सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन। तर एकातर्फ वार्ताको प्रयास भइरहेको र अर्कोतर्फ अमेरिकाले थप सैन्य शक्ति परिचालन गरिरहेको अवस्थाले तनावपूर्ण स्थिति कायम रहेको देखाउँछ।

रोयटर्सका अनुसार इरानले कूटनीतिक समाधानको सम्भावना परीक्षण गरिरहेको भए पनि अमेरिकी आक्रमण पुनः सुरु भए अझ व्यापक जवाफी कारबाहीका लागि तयारी गरिरहेको छ।

अमेरिकाले भने तेस्रो विमानवाहक युद्धपोत समूहसहित हजारौँ सैनिक मध्यपूर्वतर्फ पठाइरहेको छ। साथै साउदी अरब र कतारका ऊर्जा पूर्वाधारको सुरक्षाका लागि थप प्याट्रियट प्रणाली तैनाथ गरेको छ।

यसरी अहिले अमेरिका–इरान द्वन्द्व कूटनीतिक प्रयास र सैन्य तयारी दुवै एकसाथ अघि बढिरहेको अत्यन्त तनावपूर्ण चरणमा छ। होर्मुज जलडमरूमध्यको सुरक्षा, खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र विश्व तेल आपूर्तिमा पर्ने प्रभाव आगामी दिनमा विशेष चासोको विषय बनेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस