वीरगन्ज –
वीरगन्जको ऐतिहासिक पहिचान बोकेको घण्टाघरको मर्मत कार्यमा ढिलाइ भएकोमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतका लागि तीन महिना बितिसक्दा पनि काम सम्पन्न भएको छैन। स्थानीयले चाँडो मर्मत सम्पन्न गर्न माग गरेका छन्।
घण्टाघर, जुन स्वदेशी र विदेशी पर्यटकको मुख्य आकर्षण हो, अहिले मर्मतको नाममा घुम्टोले छोपिएको छ। यसले पर्यटकहरू निराश भएका छन्। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको जीर्ण संरचनाका कारण मर्मतमा समय लागेको बताए। “पुरानो संरचना भएकाले मर्मतमा केही बढी समय लागेको हो,” उनले भने, “हामीले व्यवसायीलाई पनि छिटो काम सक्न ताकेता गरिरहेका छौँ।”

महानगरको पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले बाल्कोनीमा पानीको उचित निकास नहुँदा घामपानीले क्षति पुगेको बताए। “घामपानीले बाल्कोनीमा ‘क्र्याक’ आएको थियो, इँटा खस्न थालेको थियो,” उनले भने, “हामीले बाल्कोनीको छाना फुटाएर मर्मत अघि बढाएका छौँ।”
इञ्जिनियर झाका अनुसार क्षतिको विवरण सङ्कलन, लागत अनुमान र स्काफोल्डिङ निर्माणमा समय लागेको हो। “उचाइमा काम गर्न दक्ष जनशक्ति र प्राविधिक खोज्न चुनौतीपूर्ण थियो,” उनले भने, “अहिले ५०–६० फिट उचाइमा काम भइरहेको छ। तल्लो संरचनालाई जोगाउँदा काम ढिलो भएको हो।”
मर्मत कार्यमा खिया लागेका छड हटाएर नयाँ राख्ने र पानी चुहिने समस्याको समाधान गर्ने काम भइरहेको छ। झाले मर्मतका लागि डेढ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरे। महानगरले विगत डेढ महिनादेखि स्काफोल्डिङलगायतका काम गरिरहेको छ।
घण्टाघर क्षेत्रमा सवारी चापका कारण चारैतर्फबाट छोपेर काम भइरहेको छ। यो मर्मत कार्य २० लाखको लागतमा २०८२ असार १० गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का दिइएको छ।
सन् १९७९ फेब्रुअरी ८ मा बनेको यो घण्टाघर जापानको योनागो सहरका विद्यार्थीले खाजाको पैसा कटाएर बनाएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। गत चैत २७ गते नेपालका लागि जापानी राजदूत माएदा तोरुले पनि घण्टाघरप्रति चासो देखाएका थिए।