२०८२ असार १७ गते, मंगलवार ०१:०१

बारा –

बाराबाट दिल्लीस्थित वेश्यालयमा लैजाँदै गरेकी २० वर्षीया विवाहित युवतीको उद्धार गरिएको छ। यस क्रममा सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टाका २४ वर्षीय सुरज गुप्ता पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानमा गुप्ताले ती युवतीलाई आफ्नी सानी आमाले सञ्चालन गरेको दिल्लीको यौन व्यवसायमा संलग्न गराउन भारत लैजाँदै गरेको खुलेको छ। भारतको बिहारस्थित मोतीहारी जिल्लाको जमुनियाबाट भारतीय शसस्त्र सीमा बल (एसएसबी) ले मंगलबार राति गुप्तालाई नियन्त्रणमा लिएको थियो।

रौतहटसँग जोडिएको सीमाबाट लैजाँदै गर्दा शंका लागेपछि एसएसबीले सोधपुछ गरेको थियो। गुप्ताले फरक–फरक बयान दिएपछि कडा सोधपुछ गर्दा उनले युवतीलाई वेश्यालयमा लैजान लागेको स्वीकार गरे।

पक्राउपछि भारतीय एसएसबीले गुप्तालाई रौतहट प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय बारालाई बुझाएको थियो। बाराका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले गुप्ताको स्थायी बसोबास बारा जिल्लामा रहेकाले थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जिम्मा दिइएको जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। यो घटनाले महिला तथा बालिका तस्करीको समस्या अझै गम्भीर रहेको प्रहरीको ठहर छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस