२०८२ असार १६ गते, सोमबार २२:०७

धर्मेन्द्र पासवान/लहान-

गरीबी र अभावमा जीवन बिताइरहेका सिरहाको कर्जन्हा नगरपालिकाका विपन्न परिवारले आफ्नो पहिलो पक्की घर पाएपछि गहिरो भावुक भएका छन् ।
दुई कोठाको घर शौचालय सहित पाएपछि खुसी हुँदै कुशमा सदाले भनिन् ‘हामीले सधैं कच्चा झुग्गीमा कठिनाइ सहेका थियौं । पानी, चिसो र असुरक्षित अवस्थामा बस्न बाध्य थियौं । अब यो पक्की घर पाएपछि धेरै राहत महसुस भएको छ । हामीले सपनामा पनि नसोचेको कुरा विपनामै साकार भयो ।’

कर्जन्हा नगरपालिका र ह्याविट्याट फोर ह्युम्यानिटीको संयुक्त लगानीमा र भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोगमा सिरहाको कर्जन्हा नगरपालिका वडा नं-१ बल्टीयामा विपन्न परिवारलाई लक्षित गरी सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत १० सहित ७० घर निर्माण गरि अति विपन्न र दलित समुदायलाई हस्तान्तरण गरिएकाे छ ।

कर्जन्हा नगरपालिकाको यो आवास योजना गरीब, वञ्चित, विपन्न र अपाङ्गता भएको परिवारलाई सहयोग गर्न सुरू गरेको हो । यसले न केवल उनीहरूको आवासीय सुरक्षा बढाएको छ, तर उनीहरूको सम्मानपूर्ण जीवनयापनमा पनि ठूलो योगदान दिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरिएको उक्त कार्यक्रम कर्जन्हा नगरपालिकाको पहल, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग, भवानी एकीकृत विकास केन्द्रको प्राविधिक तथा सहजीकरण सहयोग, र लाभग्राही घरधनीहरूको श्रमदानमा सम्पन्न भएको हो ।

कार्यक्रम अन्तर्गत कर्जन्हा नगरपालिका वडा नं- १ का लागि नगरपालिकाबाट बाट २४ लाख ९६ हजार ६ सय २८ रुपैयाँ ३५ पैसा , ह्याबिटाट फर ह्युम्यानिटी नेपालबाट २४ लाख ८५ हजार ८ सय १८ रुपैयाँ ७५ पैसा, र लाभग्राहीको श्रमदानबाट रु. ८ लाख ८० हजार ४ सय ४६ रुपैयाँ ८९ पैसा गरि ९८ लाख ६२ हजार ८ सय ९३ रुपैयाँ ८९ पैस बराबरको योगदानमा निर्माण सम्पन्न भएकाे कर्जन्हा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमानले बताए ।

त्यसैगरी आज कर्जन्हा नगरपालिकाले ७० वटा नवनिर्मित घरहरू घर साझेदारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

घरबारविहीन र भूमिहीन लाभार्थीहरूका लागि वडा नं- १ मा औपचारिक हस्तान्तरण समारोह आयोजना गरिएको थियो । वडाभरि हस्तान्तरण गरिएको घरहरू मध्ये वडा नं-३ मा १० घर, वडा नं-५ मा १० घर, वडा नं-८ मा १० घर, वडा नं-९ मा १० घर, वडा नं-१० मा १० घर, वडा नं-११ मा १० घर गरि जम्मा ७० घर हस्तान्तरण गरिएको छ ।

नवनिर्मित घरहरूको संयुक्त हस्तान्तरण समुद्घाटन कर्जन्हा नगरपालिकाका नगर प्रमुख भाेला प्रसाद पोखेल, नगर उप-प्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव र वडा नं- का अध्यक्ष फनिन्द्र पोखरेल लगायतका वडा अध्यक्षहरूले गरेको थियो ।
नगर प्रमुख पोखरेलले आफु यदि चुनावमा निर्वाचित भए भन्ने घर पाएकाहरूलाई त्यतिखेर नै घर बनाएर दिने योजना बनाएको बताए । र निर्वाचित भएपछि आफुले ठानेको कुरा गर्न पाउँदा र थोरै परिवारलाई घर बनाएर दिन पाउँदा एकदमै हर्षित भएको महसुस गरे ।

कर्जन्हा नगरपालिकाको उप-प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले घर बनाएर विपन्न परिवारलाई हस्तान्तरण गरेर मात्रै हाम्रो जिम्मेवारी नसकेको तर्क गरिन् ‘हामीले अब घरसंगै रोजगारीको लागि स्थानीय उत्पादन विशेष गरि हस्तकलाबाट बनेको ‘डलिया’ लाई नगरपालिकाले खरिद गरि बजारीकरण गरेर सहयोग गरिरहेका छौँ । नाम मात्रैको तालिम नभएर सहि सदुपयोग सहितको सीपमूलक तालिम आयोजना गरेका छौँ जसबाट कोही-कोही महिला दिदीबहिनीले १५-२० मासिक आम्दानी समेत गरिरहेको छ ।’

भवानी एकीकृत विकास केन्द्रका प्रतिनिधिहरुले आगामी दिनमा पनि यस्ता सहकार्यमा प्रतिबद्धता जनाएका छन् ।

पहिले पानी परेकाे बेला रात भर जाग्राम बसेर घरमा चुहिएकाे पानी निकाल्दा निकाल्दा रात नै बित्ने गरेकाे थियाे, तर आज घर पाएपछि एकदम खुसी भएकी अर्का ककुल्ती सदायले बताईन ।
समुद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरू तथा लाभग्राही समुदायका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस