काठमाडौं –
नेपाल औषधी लिमिटेडद्वारा उत्पादित औषधीको बिक्री नभएको गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा छलफल भएको छ। सोही दिन स्वास्थ्य सेवा विभागले आवश्यक औषधी खरिद प्रक्रिया अघि बढाएको छ।
विभागको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल र जीवनजल खरिद गर्न पत्राचार गरेको छ। महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा भएको छलफल र मन्त्री पौडेलको प्रतिबद्धतापछि तत्काल प्रक्रिया सुरु गरिएको बताए। उनले भने, ‘नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ।’

मंगलबार मन्त्रालयमा मन्त्री पौडेलको पहलमा स्वास्थ्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीबीच छलफल भएको थियो। मन्त्री पौडेलले सरकारले तोकेका आवश्यक औषधी तीनै तहका स्वास्थ्य संस्थामा पुग्ने गरी खरिद प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।
छलफलमा लिमिटेडको औषधी बिक्रीमा देखिएका समस्या समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लिमिटेडका अधिकारी सम्मिलित समस्या समाधान समिति गठन गर्ने सहमति भएको छ।
यो कदमले नेपाल औषधी लिमिटेडको उत्पादनको बिक्री वृद्धि हुने र स्वास्थ्य सेवामा औषधीको उपलब्धता सुनिश्चित हुने अपेक्षा गरिएको छ।