काठमाडौँ —
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार, धेरै पानी पर्दा जम्मा हुने पानीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्छ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने, “मौसम विभागको प्रक्षेपणअनुसार धेरै पानी परेमा डेङ्गी सङ्क्रमणको सम्भावना बढ्छ। पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्छन्, जसले डेङ्गी फैलाउँछ।” गत वर्ष सन् २०२४ मा देशभर डेङ्गी सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको र करिब ४२,००० व्यक्ति सङ्क्रमित भएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो।

हाल डेङ्गी सङ्क्रमणको दर कम रहे पनि मनसुनको समयमा जोखिम बढ्ने भएकाले अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने डा. दाहालको सुझाव छ। “पानी जम्ने टायर, गमला र झाडीहरूको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्छ,” उहाँले भन्नुभयो।
सामुदायिक पहल आवश्यक
विज्ञहरूले डेङ्गी नियन्त्रणका लागि व्यक्तिगत र सामुदायिक स्तरमा सक्रियता आवश्यक रहेको बताएका छन्। स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा सफाइ अभियान र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।
“सानो सावधानीले ठूलो क्षति रोक्न सकिन्छ,” डा. दाहालले जोड दिनुभयो। बर्खायाम सुरु हुनुअघि नै तयारी थाल्नाले डेङ्गी सङ्क्रमणको जोखिम कम गर्न सकिने उहाँको भनाइ छ।