पर्सा/अर्जुन चौधरी
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा “घुमौं मधेश, बुझौं मधेश” मूल नाराका साथ वीरगन्जको होटल भिस्वामा भव्य रुपमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश र महासंघको संयुक्त पहलमा आयोजित कार्यक्रममा मधेश प्रदेशभरिका पर्यटन व्यवसायी, सरकारी अधिकारी, सुरक्षा निकाय र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाको गरिमामय उपस्थिति थियो।
विशिष्ट अतिथिका रूपमा विकास राघव, जिल्ला प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख गौतम मिश्रा र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल सहभागी हुनु भएको थियो। कार्यक्रमलाई अझ बृहत बनाउन पर्यटन व्यवसायी दीपक शाक्य, सुरेन्द्र श्रेष्ठ, केन्द्रीय सचिव हरी पन्त, दानबहादुर श्रेष्ठ तथा पर्सा व्यवसायी सचिव तब्रेज आलमजस्ता प्रतिष्ठित व्यक्तित्वहरूले पनि योगदान पुर्याएका थिए।
बिहान होटल भिस्वामा उद्घाटन सत्र सम्पन्न भएपछि सहभागी टोली पर्साको प्रमुख पर्यटकीय गन्तव्य ठोरीतर्फ प्रस्थान गरेको थियो। त्यहाँ दिनभर विविध प्रवर्द्धनात्मक कार्यक्रम र अवलोकन भ्रमण सम्पन्न गरियो।
कार्यक्रमले मधेश प्रदेशको पर्यटन सम्भावना उजागर गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने दीर्घकालीन रणनीति तय गर्ने लक्ष्य लिएको आयोजकले जनाएका छन्।